Home मुख्य समाचार प्रारम्भिक बालशिक्षासम्बन्धी प्रदेशस्तरीय सम्मेलन सम्पन्न

प्रारम्भिक बालशिक्षासम्बन्धी प्रदेशस्तरीय सम्मेलन सम्पन्न

सम्मेलनमा सहभागी शिक्षकहरु ।

हेटौँडा : गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ? भन्ने विषयमा बागमती प्रदेशस्तरीय सम्मेलन शुक्रबार र शनिबार हेटौँडामा सम्पन्न भएको छ । काठमाडौंस्थित रातो बंगला फाउण्डेशन र हेटौँडास्थित नवोदय शिशु सदनको संयुक्त आयोजनामा भएको सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाका शिक्षकको सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो दिन शुक्रबार प्रमुख वक्ता रातो बंगला फाउण्डेशनकी अध्यक्ष डा. शान्ता दीक्षितको प्रस्तुती रहेको थियो भने प्रारम्भिक बालशिक्षासम्बन्धमा प्यानल छलफल भएको थियो । डा. दीक्षितको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्मेलनको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन समारोहमा डा. दीक्षितले बालशिक्षामा ध्यान दिनुपर्ने आवश्यकता र नेपालको सन्दर्भमा भइरहेका अभ्यासका विषयमा बताउनुभयो ।

रातो बंगला फाउण्डेशनकी कार्यकारी निर्देशक एलिना सुब्बाले सहजीकरण गर्नुभएको प्यानल छलफलमा डा. दीक्षित, काठमाडौं विश्वविद्यालयकी अतिथि प्राध्यापक बालविकास शिक्षा विज्ञ डा. मिनाक्षी दाहाल, हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर पराजुली, नवोदय शिशु सदनका प्रिन्सिपल दिपेश जोशी सहभागी हुनुहुन्थ्यो । प्रदेशका १३ वटै जिल्लाका शिक्षकको प्रतिनिधित्व रहेको सम्मेलनमा मकवानपुरका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकको उल्लेख्य सहभागिता रहेको थियो । सम्मेलनको दोस्रो दिन आज शनिबार बालशिक्षाका सन्दर्भमा विभिन्न शीर्षकमा रहेर छलफल तथा कार्यशालाको आयोजना गरिएको थियो ।

Exit mobile version