हेटौँडा : हेटौँडामा भएको १५ औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा मकवानपुर तेक्वान्दो डोजाङ प्रथम भएको छ । शुक्रबार र शनिबार भएको तेक्वान्दो प्रतियोगिताको उपाधि आयोजक मकवानपुर तेक्वान्दो डोजाङले जितेको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको मकवानपुर तेक्वान्दो डोजाङले ८ वटा स्वर्ण पदक प्राप्त गरेको छ । यसैगरी प्रतियोगिता द्वितीय भएको जनज्योति तेक्वान्दो डोजाङले ७ वटा स्वर्ण पदक र तृतीय भएको जनप्रिय तेक्वान्दो डोजाङ २ वटा स्वर्ण पदक प्राप्त गरेको छ । प्रतियोगितामा मकवानपुर तेक्वान्दो डोजाङका आरुष थापा जुनियरमा, भीमफेदी डोजाङका विशाल स्याङ्तान सिनियरबाट, जनज्योति तेक्वान्दो डोजाङबाट रोशनी नेगी जुनियरमा र चाँदनी हायु सिनियरतर्फ जनज्योति तेक्वान्दो डोजाङबाट उत्कृष्ट खेलाडी घोषित हुँदै मेडल तथा ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगितामा मकवानपुर जिल्लाको १९ वटा तेक्वान्दो डोजाङबाट ३ सय ५० जना भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी खेलाडीहरुबीच पुम्से र केरोगी (फाइट) विधामा प्रतिस्पर्धा गराइएको थियो । मकवानपुर तेक्वान्दो डोजाङकी सञ्चालक निरुकुमारी मगरको सभाध्यक्षमा तथा हेटौँडा–११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको थियो । प्रतियोगिताको पुरस्कार वितरण समारोहमा मकवानपुर तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्य, बारा तेक्वान्दो संघका अध्यक्ष चित्रबहादुर लामा लगायतको आतिथ्य रहेको थियो ।
