हेटौँडा : हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडास्तरीय वादविवाद प्रतियोगितामा ब्रम्हदिक एकेडेमीका दिव्यान्सु शाही प्रथम भएकी छिन् । आइतबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सहव्यवस्थापनमा सम्पन्न प्रतियोगितामा शाही प्रथम भएकी हुन् ।
प्रतियोगितामा ब्रम्हदिक एकेडेमीकै प्रियान्सु पोखरेल द्वितीय र सत्यम जेभियर्स माविका नेहा भ्लोन तृतीय भएका छन् । भुटनदेवी माध्यमिक विद्यालयकी रचना रिमालले सान्त्वना स्थान हासिल गरेकी छिन् । प्रतियोगितामा भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, सत्यम जेभियर्स, ब्रह्मदिक एकेडेमी, नावोदय शिशु सदन र श्रमिक मावि गरी ६ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रत्येक विद्यालयबाट २/२ जनाको सहभागिता रहेको थियो ।
आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महमद समिमको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ४ नम्बर वडा सदस्य गीता त्रिपाठी हुनुहुन्थ्यो । कार्यक्रममा शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहाल, ४ नम्बर वडा सचिव आरपी गुरागाईं, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईंलगायतको आतिथ्य थियो । शैक्षिक गुणस्तर सुधार समितिले पुस १० गतेदेखि फागुन ७ गतेसम्म विभिन्न प्रतियोगिता आयोजना गरी तेस्रो वडा खेलकुद महोत्सव मनाउँदैछ । प्रतियोगिताका विजेताहरुलाई फागुन ७ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
