हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा एकैदिन २ जना मृत फेला परेका छन् । प्रदेशको दोलखा र सिन्धुली जिल्लामा सोमबार २ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–४ झोराखानी दमार सामुदायिक बनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा दुधौली नगरपालिका–३ मिलन चोक बस्ने ५८ वर्षीय सन्त बहादुर घिसिङ रहेको प्रहरीले जानकारी दिएको छ । घिसिङ सोमबार बिहान ९ बजेको समयमा सखुवाको रुख नजिक घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए । मुचुल्का पश्चात पोष्टमार्टमका लागि नगर अस्पताल सिर्थौली पठाइएकोमा पोष्टमार्टम पश्चात शव उनका भाई नर बहादुर घिसिङले शव बुझेर घर लगेको प्रहरीले जानकारी दिएको छ ।
दोलखाको भिमेश्वर नगरपालिका–१, पहरेमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मृत फेला पर्नेमा ६९ वर्षीया सिता थामी रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो ४ बजेको समयमा घरबाट कोही जानकारी नदिइ गएकी थिइन् । उनलाई आफन्तहरूले खोज्दै जाने क्रममा घरदेखि ३ सय मिटर पर बाटोमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । आफन्तका अनुसार उनि प्रेसरको बिरामी थिइन् । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि पशुपती चौलागाई स्मृती अस्पताल, चरिकोट लगिएको छ ।











