हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित एक जना पक्राउ गरिएको छ ।
आइतबार बिहान ९ बजेर ४१ मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०९२८ नम्बरको यात्रुवाहक गाडीलाई रोकेर सुरक्षाजाँच गर्दा लागूऔषध खैरो हेरोईन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले लागूऔषधसहित बाग्लुङ जिल्लाको हल्लिङचोक नगरपालिका–३ का १९ वर्षीय विवेक घर्ती मगरलाई पक्राउ गरेको छ । प्रहरीले विवेकको साथबाट १ ग्राम ३५० मिलिग्राम खैरो हेरोईन फेला परेको जनाएको छ । लागूऔषधसहित विवेकलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।











