हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित पूर्व–पश्चिम सडकखण्डमा यात्रुबाहक बस र हात्तीगाडी एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । आइतबार दिउँसो ४ बजेको समयमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८९३८ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट जाँदै गरेको बा २१ च १४१३ नम्बरको हात्तीगाडी ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
दुर्घटनामा हात्तीगाडी चालक कैलाली जिल्लाको जानकी गाउँपालिका–८ का ४२ वर्षीय राजराम थारू, सोही गाडीमा सवार दोलखा जिल्लाको घ्याङचा सुख्खा टकर गाउँपालिका–२ का ३५ वर्षीय सन्तोष भण्डारी र ३३ वर्षीया लक्ष्मी भण्डारी घाइते भएका छन् । उनिलाई मौलाकालिका अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । बस चालक उदयपुरको ताप्ली गाउँपालिका–४ का २५ वर्षीय सागर सुनुवारसहित दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
