हेटौँडा : मकवानपुर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ७ जना पक्राउ गरेको छ । फरार भएकाहरुलाई खोजी गर्ने क्रममा आइतबार विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा लागुऔषध मुद्दामा १ महिना १७ दिन सजाय तोकिएका हेटौँडा–१७ का ३८ वर्षीय अर्जिन कुमार राउत र १ वर्ष कैद र ५ हजार ४ सय रुपैयाँ जरिवाना तोकिएका हेटौँडा–१४ का ३३ वर्षीय चन्द्रबहादुर गोले रहेका छन् । यसैगरी चोरी मुद्दामा दोषी ठहर भई ४ महिना कैद तोकिएका हेटौँडा–१६ का २८ वर्षीय विनय बिक, ३÷३ महिना कैद र ५ हजार २ सय रुपैयाँ जरिवाना तोकिएका हेटौँडा–१९ का २० वर्षीय आकाश तामाङ र ३० वर्षीय मनोज लामा पक्राउ परेका छन् ।
यस्तै, चेक अनादर मुद्दामा ३ हजार रुपैयाँ जरिवाना तोकिएका हेटौँडा–१३ का ३८ वर्षीय बुद्ध गोले र लागूऔषध तथा हातहतियार खरखजना मुद्दामा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएका कैलाश गाउँपालिका–६ का २७ वर्षीय विजय कुमार मुक्तान पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई मकवानपुर जिल्ला अदालतमा पेश गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।











