१. हामीले विद्यालयमा पढ्ने बेलामा शहीदको ‘श’ मोटो नै पढ्यौं र लेख्यौं । पछिल्ला भाषाशास्त्रीहरुले पातलो ‘स’ प्रयोगमा ल्याउनु भयो र अहिले प्रचलनमा पातलो नै सहीद लेख्ने गरिन्छ । यद्यपि, यो मोटो र पातलो बीचको बहसले सरोकारवाला कन्भिन्स देखिँदैनन् । ‘श’ वा ‘स’ को चर्चा यो आलेखको विषय होइन । शहीदको परिभाषा के हो ? कसलाई शहीद भनिन्छ ? किन शहीद भनिएको हो ? किन कसैको मृत्युमा सम्बन्धित परिवार मात्र नभै सिंगो मुलुक नै शोकमा डुब्दछ ? कसैको मृत्यु किन सगरमाथा भन्दा पनि उचो र गरुंगो हुन्छ ? मृत्यु त मृत्यु मात्र हुनुपर्ने होइन र ? यस्ता प्रश्नहरुका बारेमा बहस र चर्चा गर्नुको अर्थ के हुन सक्ला ? जन्मसँगै मृत्यु अवश्यम्भावी छ । कोहि जन्मन्छ भने उस्को मृत्यु निश्चित छ । यो शाश्वत सत्य मानिएको छ । मर्ने सबै किन शहीद हुँदैनन् वा भनिँदैनन् त ? मृत्युलाई सहजै स्विकार गर्नेहरु अर्थात आत्महत्या गर्नेहरु पनि शहीद हुन् त ? यस्ता सवालहरुको फेहरिस्त लामो बनाउन सकिन्छ । सामान्य अर्थमा हामीले बुझेको शहीद भन्नाले ती व्यक्तिहरु जो राष्ट्रका सवालमा अर्थात देशको स्वाधिनता र स्वतन्त्रताका लागि नागरिकका मानव अधिकार र न्याय एवम् सत्य अनि निष्ठाका लागि जीवनको वलिदान गर्नेहरु नै शहीद हुन् । शासकहरुका क्रुर र तानाशाही शोषण दमनका विरुद्धमा अवाज उठाउँदा मृत्युवरण गर्ने ती महान सपुतहरु शहीद हुन् भनेर हामीले पढ्यौं र बुझ्यौं ।

२. हाम्रो देशमा माघ महिनाको १० गतेदेखि १६ गतेसम्म प्रत्येक वर्ष शहीद सप्ताहको रुपमा शहीद दिवस मनाउने प्रचलन छ । तत्कालिन जहाँनिया राणा शासनका विरुद्धमा आवाज उठाएकै कारणले वि.सं. १९९७ माघ १० गते अमर शहीद शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकु पचलीमा बकाईनोका रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । त्यसैगरी वि.सं. १९९७ कै माघ १३ गते काठमाडौंकै सिफलमा अर्का शहीद धर्मभक्त माथेमा अनि उक्त माघको १५ गते काठमाडौंकै विष्णुमतीको छेउ शोभाभगवती किनारमा गोली हानेर शहीद दशरथ चन्द र शहीद गंगालाल श्रेष्ठलाई फाँसी दिइएको थियो । यी ४ अमर शहीदहरु सहित सबै शहीदहरुको स्मरणमा यो शहीद सप्ताहलाई सरकारी औपचारिक कार्यक्रम भनिएको छ । यी दिनहरुमा सरकारका तर्फबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरिने गरिएको समाचारमा सुनिन्छ ।

विभिन्न संघसंस्थाहरु अनि नागरिक समाजका तर्फबाट पनि शहीदहरुको स्मरण गर्ने र शहीदहरुका स्मारक तथा मूर्तिहरुमा माल्यार्पण गर्ने प्रचलन देख्न, सुन्न सकिन्छ । सरकारका तर्फबाट शहीद घोषणा गरिएका परिवारलाई रु दश लाख उपलब्ध गराउने भएकाले पछिल्ला वर्षहरुमा अन्य कारणले मृत्युभएकाहरु पनि शहीदको सूचीमा पार्ने कसरत दरो रुपमा विकसित भएको छ । यस प्रकारका क्रियाकलापले साँचा शहीदहरुको अवमूल्यन हुने स्पष्ट छ । आन्दोलन गरेर वा सरकारलाई दबाव र प्रभावमा पारेर शहीद घोषणा गराई उक्त आर्थिक लाभ लिने नियत कदापि उपयुक्त भन्न सकिँदैन । हत्या, आत्महत्या, मृत्यु र शहादतलाई एकै स्थानमा राखेर बुझ्नु भनेको शहीद प्रतिको अपमान हो । स्थानीय नेताहरु आफ्ना मतदाता रिसाउलान् र अर्को पटक भोट नदेलान् भनेर पनि गलत कुराको वकालत गर्ने गरिएका उदाहरण धेरै छन् ।

३. व्यक्तिगत लोभलालचका स्वार्थहरुबाट माथि उठेर देश र जनताका हितमा शासकहरुका अन्याय र अत्याचारका अनि दूराचारका विरुद्धमा प्राणकै वलिदान गर्ने ती गंगालाल, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीहरु मानव मात्र नभई महामानव हुन् । राणाहरुको ज्यादतीका विरुद्धमा आवाज उठाउने गोरखाका लखन थापालाई वि.सं. १९३३ फागुनमा मृत्युदण्ड दिइएको थियो । लखन थापालाई नेपालकै पहिलो शहीद मानिन्छ । भोजपुरमा वि.सं. १९१७ मा जन्मिएकी योगमाया न्यौपाने सामाजिक अन्याय, विभेद र भ्रष्टाचारका विरुद्धमा अनि राणाहरुकै ज्यादतीका विरुद्धमा धर्मराज्य स्थापनाका लागि आवाज उठाउने पहिलो नेपाली महिला वि.सं. १९९८ असार हरिशयनी एकादशीका दिन अरु ५५ जना महिला सहित अरुण नदीमा जल समाधी लिन बाध्य भईन् ।

यो नेपालकै इतिहासमा ‘न भुतो न भविष्यती’ घटनाको रुपमा लिईन्छ । राणाहरुको शासनकाल अघि पनि यो धर्तीमा धेरै व्यक्तिहरुले शहादत प्राप्त गरेका थिए होलान् । विभिन्न ससाना राज्यमा विभाजित बाइसी, चौबिसी र अन्य भूगोलमा विभिन्न कालखण्डमा सत्य र न्यायका लागि जीवनको वलिदान गर्नेहरु ओझेलमा परेका हुन सक्छन् । राणाकालमै व्राम्हण भएकै कारणले रामहरि शर्मा, टंकप्रसाद आचार्य लगायतकालाई बेईज्जतका साथ देश निकाला र कसैलाई सर्वस्वहरण गरी आजन्म कैद गरियो । सबै कालखण्डका शासकहरु आफ्नो आलोचना सुन्नै नसक्ने र मात्र स्तुतीगान सहितको चाकडी मात्र रुचाउने अनि जनतालाई सदैव दास झैं व्यवहार गर्ने संस्कारबाट ग्रसित भएको स्पष्ट छ ।

४. कुनैपनि अवस्थामा अन्याय र उत्पीडन स्विकार नगर्न सामान्य होईन । कुनै पदीय लोभले सत्य र सदाचारलाई प्रभाव पार्न सक्दैन भन्ने गतिलो उदाहरण शहीदहरुले प्रदर्शन गरेकै हो । माफ मागेको खण्डमा जीवन दान दिने शासकहरुका सामु रत्तिपनि नझुकेर मृत्युवरण रोज्ने ती नेपाल आमाका सच्चा सन्तानहरुका नाम सम्झँदा मात्र पनि श्रद्धाले शिर झुक्दछ । यसै क्रममा वि.सं. २००१ असार २६ मा चिनियाँलाल सिंह, वि.सं. २००७ कार्तिक २५ मा थिरबम मल्ल, वि.सं. २००७ मंसिर १० मा न्हुछेरत्न, वि.सं. २००७ पौष १७ मा भोगेन्द्रमान सिंह, वि.सं. २००८ कार्तिक २० मा चिनियाँ काजी उदास, वि.सं.२००८ माघ २१ मा रामप्रसाद राई, वि.सं. २०१० साउन १८ मा भीमदत्त पन्त, २०२० माघ १५ मा दुर्गानन्द झा, वि.सं. २०३५ मा रत्न कुमार बान्तवालाई बिर्सन सकिन्न ।

पंचायत कालमा नै तत्कालिन शासकहरुका ज्यादतीका विरुद्धमा आवाज उठाए वापत पक्राउ गरी हत्या गरिएका रामनाथ दहाल, नारायण श्रेष्ठ, नेत्र घिमिरे, बिरेन राजवंसी, भागिरथ श्रेष्ठ, गंगालाल तुलाधर, ऋषीराज देवकोटा (आजाद) हरुले न्यायपूर्ण समाज र सही अर्थमा गणतन्त्र स्थापनाका लागि शहादत प्राप्त गरेका थिए । राणा शासनको अन्त्य मात्र होइन, पंचायती तानाशाहीको समाप्ती मात्र पनि होइन, राजतन्त्रको अन्त्यसहित प्रत्येक राजनीतिक आन्दोलनका क्रममा अनेकौं व्यक्तिहरुले जीवन उत्सर्ग गरेका छन् । वि.सं. २०३६ को विद्यार्थी आन्दोलन अनि शिक्षक आन्दोलन वि.सं. २०४२ र पंचायती व्यवस्थाको अन्त्यसँगै बहुदलीय व्यवस्थाको पुनर्बहालीका लागि भएको वि.सं. २०४६ को आन्दोलन मात्र होइन, वि.सं.२०५२ सालदेखि २०६२ सम्मको आन्दोलनमा अनेकौं व्यक्तिहरुले जीवन वलिदान गरेको इतिहास साक्षी छ ।

५. राजतन्त्रको अन्त्य पश्चात मुलुकमा गणतन्त्र स्थापना भैसकेपछि पनि शिक्षक, विद्यार्थी, मजदूर, कृषक, कर्मचारी, स्वास्थ्यकर्मी, प्राविधिक लगायतका पेशाकर्मीहरुको आन्दोलनमा समेत धेरै रगत बगेको छ । पछिल्लो समयमा नवपुस्ता अर्थात जेन–जेडको आव्हानमा वि.सं. २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलनमा दर्जनौं विद्यार्थीहरुको जीवन बलिदान भएको छ । यी सबै आन्दोलनमा शहादत प्राप्त गरेका समस्त ज्ञात अज्ञात साँचा शहीदहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । राज्यका तर्फबाट भएका दमन उत्पीडनका क्रममा अनेकौं व्यक्ति घाईते भएका छन् । उनीहरुको आवश्यक उपचारमा सरकारले पर्याप्त ध्यान दिनुपर्छ भन्ने हाम्रो माग हो । कैयौं व्यक्तिहरुको अंगभंग भएको छ । उनीहरुलाई बाँच्ने व्यवस्थाका लागि राज्यले सहयोग गर्नैपर्छ । अन्तमा, शहीदहरु प्रतिको सम्मान औपचारिकता मात्र हैन, उनीहरुले जुन उद्देश्यका लागि जीवनको बलिदान गरे । सो प्राप्तिका लागि जिम्मेवार अंगहरु सबै गम्भीर बनुन् भन्ने अपेक्षा गरिएको छ ।