हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुली, चितवन र काभ्रे जिल्लामा बुधबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ दुधमिलमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा बनेपा नगरपालिका–१२ घर भई हाल पनौती–४, दुधमिलस्थित सटर भाडामा लिएर ईभा ग्यास वेल्डिङ पसल सञ्चालन गर्दै आएका ६२ वर्षीय नारायण सुनुवार रहेको प्रहरीले जानकारी दिएको छ । सुनुवार बुधबार बिहान ११ बजेर १५ मिनेटको समयमा आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–१०, खत्रीचोकबाट भित्रि सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान १ बजेर ३० मिनेटको समयमा थोत्रीबाट मदन भण्डारी राजमार्गको खत्रीचोकतर्फ आउँदै गरेको मधेश प्रदेश ०१–००५ प ५४२७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नगर अस्पताल सिर्थौली लगिएको थियो । उपचारका क्रममा सुनुवारको बिहान बिहान ८ बजेको समयमा नगर अस्पताल सिर्थौलीमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१४, राधापुरस्थित विश्वज्योति बोर्डिङ स्कुल नजिकै रहेको नहरको पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार राती ८ बजेको समयमा राधापुरबाट प्रहरी स्कुलतर्फ जाँदै गरेको बा प्र ०६–००६ प ७७१२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुलबाट नहरमा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय बिनोद सुवेदी गम्भीर घाइते भएका थिए । घाइते सुवेदीलाई उपचारका लागि सरकारी अस्पताल, भरतपुर लगिएकोमा राति ९ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।










