Home मुख्य समाचार निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रहरी प्रमुखको आग्रह

निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रहरी प्रमुखको आग्रह

हेटौँडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले निर्वाचनलाई सहज वातावरणमा सम्पन्न गर्न सबै पक्षले आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ । मकवानपुर जिल्लाको प्रहरी प्रमुखका रूपमा हालै जिम्मेवारी सम्हाल्नुभएका खत्रीले बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न र फागुन २१ गतेको निर्वाचन भयरहीत वातावरणमा सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । यसका लागि सञ्चार माध्यमहरुले पनि आचारसंहिता पालना गरी जिम्मेवार बन्न उहाँले आग्रह गर्नुभयो ।

कुनै पनि घटनासम्बन्धी आधिकारिक पुष्टि प्रहरीबाट मात्रै हुने भएकाले सञ्चारकर्मीलाई तथ्यपरक र आधिकारिक सूचना प्रयोग गर्न आग्रह गर्नुभयो । मकवानपुरमा लागूऔषध दुव्र्यसनी तथा कारोबार बढ्दै गएको देखिएको बताउँदै उहाँले जिम्मेवारी सम्हालेको ६ दिनभित्र १२ जनालाई पक्राउ गरी मुद्दा दायर गरिएको बताउनुभयो । यसैगरी फैसला कार्यान्वयनका लागि फरार रहेका ११ जना अपराधीलाई पक्राउ गरी अदालतमा पेश गरिएको उहाँले जानकारी दिनुभयो ।

भन्सार छलेर ल्याइएका करिब १ लाख ५० हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको, ५ कठ्ठा अफिम खेती फडानी गरिएको तथा ११ कठ्ठामा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख खत्रीले बताउनुभयो । जनशक्ति अभावको कारण गाँजा तथा अफिम फँडानी अभियानमा चुनौती रहेको भए पनि आफूले फँडानी अभियान कायम राख्ने उहाँको भनाइ छ ।
मकवानपुर प्रहरी प्रमुख खत्रीले ओभरलोड बोक्ने सवारी साधनलाई कारवाही गरिएको समेत बताउनुभयो । सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु बोकेको पाइएमा कारबाही गर्ने उहाँले बताउनुभयो । सञ्चारकर्मीहरुसँग जिल्लाको सुरक्षा चुनौतीबारे छलफल गर्दै उहाँले सञ्चारकर्मीले उठाएका विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरी आवश्यक कारबाही गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

Exit mobile version