पानसमा बत्तिबालेर उद्धघाटन गर्नु हुँदै पालिका प्रमुख दोर्जे लामा स्याङ्तान ।

हेटौँडा : मकवानपुरगढी गाउँपालिका–४, फिर्केपाखास्थित ज्वालादेवी आधारभूत विद्यालयको ४८ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । शनिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम मोक्तानको सभाध्यक्षता तथा पालिका प्रमुख दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा वार्षिक उत्सव भएको विद्यालयका प्रधानाध्यापक सरोज फुयाँलले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक फुयाँलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयले वार्षिक उत्सवको अवसरमा ६ गतेदेखि ८ गतेसम्म विविध खेलकुद कार्यक्रमसमेत आयोजना गरेको थियो । विद्यालयले साना विद्यार्थीका लागि म्युजिकल चेयर, रङ मिलाउने लगायतका खेलहरू सञ्चालन गरेको थियो भने ६ देखि ८ कक्षाका विद्यार्थीलाई भलिबल, हाजिरीजवाफ, वक्तृत्वकला, चित्रकला, नेपाली÷अङ्ग्रेजी हिज्जेलगायतका कार्यक्रम आयोजना गरेको थियो । भलिबल प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरूलाई मेडल प्रदान गरिएको थियो भने बाँकी सबै खेलमा उत्कृष्ट हुनेलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

वार्षिक उत्सवको अवसरमा विद्यालयमा राहत दरबन्दीमा रही हाल आयोगबाट स्थायी सेवामा नाम निकाल्न सफल गणित विषय पढाउने कमल सापकोटा र विज्ञान विषय पढाउने अनिता नहर्कीलाई बिदाई गरिएको छ । सो अवसरमा २०८१ सालको आधारभूत तह उत्तीर्ण परीक्षामा पालिका प्रथम शान्ता थिङलाई शैक्षिक सामग्री र सम्मानपत्रसहित सम्मान गरिएको प्रधानाध्यापक फुयाँलले बताउनुभयो ।

शैक्षिक सत्र २०८१ मा कक्षागत प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । उत्सवको अवसरमा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । विद्यालयलाई शैक्षिक सामग्री, झोला, विद्यालय पोशाकलगायत विभिन्न अवसरमा सहयोग गर्ने संस्था र दाताहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन र ४ नम्बर वडा अध्यक्ष अर्जुन तिमल्सिनाको विशिष्ट आतिथ्य रहेको थियो । विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, अभिभावक, विद्यार्थीलगायत शिक्षाप्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम ईन्द्रप्रसाद चौलागाईंले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा भानु माविका प्रधानाध्यापक राजेन्द्र थापा, गाउँपालिकाको शिक्षा शाखाका अधिकृत भगवती घिमिरे, पालिका उपाध्यक्ष पाख्रिन, अध्यक्ष स्याङ्तानले शुभकामना मन्तव्य राख्नुभएको थियो । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल १०२ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।