हेटौँडा : विभिन्न मुद्दामा फरार ४ जना प्रतिवादीहरुलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा मकवानपुर जिल्ला अदालतको फैसलामा दोषी ठहर भई फरार रहेका उनीहरुलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डाँकाचोरी मुद्दामा २ महिना कैद, १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएका मकवानपुरगढी गाउँपालिका–३ का २८ वर्षीय नारायणप्रसाद दाहाल, बहुविवाहसम्बन्धी मुद्दामा दोषी ठहर भई १ वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना हुने फैसला भएका हेटौँडा–१७ का ३४ वर्षीय अन्जनप्रसाद कोईरालालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै चेक अनादर मुद्दामा जनही १ हजार जरिवाना हुने फैसला पछि फरार रहेका हेटौँडा–४ का अजय बराल र हेटौँडा–५ का रविन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका चारै जनालाई प्रहरीले मकवानपुर जिल्ला अदालतमा पेश गरेको छ ।