नमस्कार ! अभिवादन !!
१. सर्वप्रथमतः तपाईंहरुको सुस्वास्थ्यको कामना गर्दछु । शरीर स्वस्थ भएमामात्र मष्तिस्क स्वच्छ र सक्रिय हुन्छ । अनि, स्वच्छ मष्तिस्क भनेकै संतुलित दिमाग हो । संतुलित दिमागबाटै असल बिचारहरु उब्जन्छन् । राम्रा र सहि चिन्तन र दृष्टिकोणबाट मात्र राष्ट्र समृद्धी बन्ने हो । तसर्थ, यहाँ धेरै औपचारिकताका शब्दहरु भन्दा पनि विषयमा प्रवेश गर्दै छु । छरपष्ट विषयहरु उठाएर दिक्क बनाउने भन्दा पनि शिक्षाका सामयिक र सान्दर्भिक सबालहरुमा केन्द्रित रहने प्रयत्न गरेको छु । एउटै विषयमा कति वर्ष बचनवद्ध बन्नुहुन्छ ? पूरा नभए सम्म त उहि विषय भनिरहनु पर्यो नि भनेर उहि कुरा दोहर्याएर कति पटक भोट माग्न जानुहुन्छ ? मैले जितेपछि यो गर्छु र उ गर्छु भनेर किन फटाहाको पदवी भिर्नुहुन्छ ? गर्न सकिने र सम्भव भएका कुरामात्र गर्ने बानी गर्नुहोस । आकाशका तारा झार्ने प्रकारका वाहियात गफमा कतिलाई कहिले सम्म ढाँटीरहनुहुन्छ ? गर्न नसकिने धेरै कुरा भन्दा गर्न सकिने थोरै भनेहुन्छ ।
२. विद्यालय शिक्षा ऐन बेचेर कति वर्ष खानुहुन्छ ? नयाँ शिक्षा ऐनमा यो वा त्यो समावेश गर्ने, शिक्षक कर्मचारीका मागहरु सम्बोधन गर्ने भनेर सहमती गरिएका कुराहरु म ल्याएरै छाड्छु भनेर एक पुस्ता नै बितेको पनि स्मरण गर्नुहुन्छ कि ? सीपमूलक प्राविधिक शिक्षा प्रणालीको मर्म आत्मसात गरि नयाँपुस्ताको भावना समेटेर विद्यालय शिक्षा ऐन ल्याउने प्रतिवद्धता बिगतमा गरेको बिर्सनुभयो ? अस्तब्यस्त र परम्परागत उच्च शिक्षालाई ब्यवस्थित गर्न विश्वविद्यालय छाता ऐन ल्याउने भनेर बोलेको मात्र हैन, सरकारको नीति तथा कार्यक्रममा समेटेर बजेट समेत विनियोजन भएका कुराहरु याद छ कि छैन ? यी ऐनहरु ल्याउन तपाईंहरुलाई कस्ले रोक्यो ? तयार भै सकेको भनिएको विद्यालय शिक्षा ऐन जारी नगर्न कस्को स्वार्थले तपाईं रोकिनुभयो ? दर्जनौं पटक बनेका आयोगका प्रतिवेदनहरु कस्ले र किन धोती लगायो ? वि.सं. २०२८ कै शिक्षा ऐनलाई टालटुल गर्दै आधा शताब्दि बितिसक्दा पनि थोरै लज्जा महसुस भएन ? यो अवधिमा देशको राजनीतिक प्रणाली फेरिए । सरकार फेरिए । मंत्री फेरिए । तपाईं कति पटक सांसद बन्नुभयो ? आखिर जरुरी थिएन भने शिक्षा ऐन ल्याउँछु र शिक्षामा आमूल परिवर्तनको नारा किन भन्नुभयो ?
३. नेपाललाई स्वीटजरलैण्ड बनाउने, जापान बनाउने, अमेरिका बनाउने र बेलायत बनाउने भनेर बारम्वार बोल्नुभएको हैन ? नेपाललाई त नेपाल बनाउने र नेपालकै पहिचानले विश्वमा चिनाउने हैन र ? वर्षेनी लाखौं युवा पढाईका लागि भनेर बिदेशमा जाँदा तपाईको मुटु चसक्क भएन ? शिक्षाको शिर्षकमा अरबौं रुपैंया बाहिरिदाँ तपाईंलाई कत्ति पनि असर परेन ? यो मुलुकका लागि आवश्यक जनशक्तीको पलायनका सबालमा पटक्कै चिन्ता लागेन ? यो युवाशक्तीको बैदेशिक पलायनमा हाम्रो शिक्षा प्रणाली नै कारक हो भन्नेमा अझै बिमति छ र ? यदि यहाँको शिक्षा साँच्चै जीवनोपयोगी र सीपमूलक भएको भए पढ्नै भनेर बिदेश कति जना जान्थे, अनुमान गर्न सकिन्छ । हामी कहाँ चुक्यौं भनेर सोच्ने फुर्सद तपाईहरुलाई किन भएन ? कक्षा १२ उत्तीर्ण गरेपछि ६० प्रतिशत भन्दा बढिले थप अध्ध्ययनका लागि बिदेश नै जाने भनेर कक्षा ६ पढ्दै गर्दा देखि नै बालबालिकाले योजना बनाईरहेका अवस्थाबाट थाहा नै नपाएको जस्तो अभिनय किन गर्नुहुन्छ ? अन्यथा, करिब ३ लाख विद्यार्थीले वर्षेनी कक्षा १२ उत्तीर्ण गरेका छन् तर नेपालका कलेजहरुमा स्नतकतहमा करिब १ लाख विद्यार्थी मात्र मुस्किलले भर्ना भएको त स्विकार्नु हुन्छ नि ? बाँकी विद्यार्थीका प्रतिनिधिहरु संग तपाईको अन्तरक्रिया किन हुन सकेन ? अध्ययन भिजामा गएकाहरु कति फर्किएका छन् र कति उतै स्थायी रुपले बसेका छन् भन्ने तथ्याङ्क त तपाईसंग होला ।
४. सीप र ज्ञानको संगम शिक्षा हो भनेर भाषण गरेको बिर्सनु भयो ? शिक्षालाई श्रमसंग जोड्छौ र त्यो श्रम, सीपमा आधारित हुने छ अनि उक्त सीपलाई उत्पादनमा लगाउँछौं भनेर अस्ति सम्म चिच्चयाईरहेको क्षण स्मरण गर्नुस त ? संगैं, उत्पादित वस्तु र सेवाको बजार ब्यवस्थापनका लागि सिङ्गो विश्व नै जोड्ने भनेर हामीलाई सुनाएको अस्ति जस्तो लाग्छ । आजको हाम्रो शिक्षा प्रणालीले माथि भनेजस्तो श्रम, सीप, उत्पादन र बजार ब्यवस्थापन किन गर्न सकेन भनेर बहस र चिन्तन गर्ने हिम्मत किन गर्नुभएन ? शिक्षा प्रणालीले मानवीय मूल्य मान्यता, खोज अनुसन्धान, आविष्कार र नवप्रवर्तन प्रत्यक्ष सम्बोधन नगरेसम्म मुलुकको समृद्धि कागजमा सिमित हुने तथ्यमा शंका छैन । यहाँको प्राकृतिक सम्पदा र युरेनियम लगायतका मूल्यवान खनिजवस्तुहरुमा अन्य मुलुकहरु आकर्षित भैरहँदा तपाईहरु भने युवाजनशक्ती बेचेर सो को रेमीट्यान्समा सपना देखिरहनु बिडम्वनापूर्ण भन्नै पर्दछ ।
५. सबाल शैक्षिक संरचना र समग्र प्रणाली संग जोडिएको छ । प्राध्यापक,शिक्षक र कर्मचारीहरुका समस्याका कुरा चुनावताक गर्ने मात्र हैन । नसकिने कुरा नबोलौं । सकिने गरेर साबित गरौं । यो वर्ष यत्तिवटा पूरा गर्छौ र बाँकी अर्को वर्ष यति गर्छौ भनेर नढाँटी गरेर देखाउन कस्ले छेक्छ र ? शिक्षा प्रशासन लथालिङ्ग छ, तपाईंले नै भनेको होईन र ? चुस्त र कामयावी अनि सम्मानजनक शिक्षा प्रशासन बनाउँने भनेर बाचा गरेको हैन ? प्राविधिक शिक्षा त्यस्तै निरिह हविगतमा घस्रिरहेको देख्नु नै भएको छ । हरेक स्थानियतहमा प्राविधिक शिक्षालय संचालन गर्ने भनिएका कार्यक्रमको प्रभावकारिता हेर्नुभएको छ ? अनुमती दिएर मात्र शिक्षण संस्था चल्छ त ? आज कैयौं प्राविधिक शिक्षालय ताला लागेको बास्तविकता बुझ्नु भएको छ ? पाठ्यक्रम बिकास केन्द्रलाई प्राण भर्न जरुरी छ भनेको भुल्नु भयो ? माध्यमिक तहकै जाँचका लागि २ वटा परीक्षा नियन्त्रण कार्यालयका बोर्ड झुण्ड्याएर गरेको नाटक त हेरिरहनु भएकै होला ।
६. वर्तमान नेपालको संविधानले माध्यमिक तह सम्मको शिक्षा स्थानियतहमा जिम्मा लगाएको छ । आधारभूत अर्थात कक्षा ८ सम्मको शिक्षा अनिवार्य र निशुल्क भनिएको छ । माध्यमिक तह अर्थात कक्षा १२ सम्मको शिक्षा निशुल्क उल्लेख गरिएको छ । यसरि संविधानले गरेको ब्यवस्था कार्यान्वयन भएको छ छैन, त्यो तपाईंलाई स्पष्ट थाहा छ । सक्ने भए ब्यवहारमा गरेर देखाउनुपर्छ हैन भने कानूनमै यत्ति वर्षमा यो काम गर्ने हो भनेर किटानी गर्न तपाईलाईं कस्ले छेकेको छ र ? अन्यथा, संविधान, कानून र नियमको धज्जी उडाउन पाईन्छ र ? एक दर्जन आयोग संविधानमा अटाउँदा शिक्षा आयोग संवैधानिक बनाउन नसकेकोमा रत्तिपनि शरम लाग्दैन ?
७. अन्तमा, तितो र नजाती नमान्नु होला । सत्य अलि खरो र नमिठो लाग्न सक्छ । विद्यालय शिक्षासंग जोडिएका केहि उल्लेखित सन्दर्भहरुलाई गम्भिरतापूर्वक लिई देखिएका समस्याहरुको जवाफ भन्दा पनि समाधान हामीले खोजेका हौं । उच्च शिक्षाका बारेमा अर्को पत्रबाट स्मरण गराउने प्रयत्न हुनसक्छ । हालको अवस्थामा निशुल्क शिक्षा लोकप्रिय नारा बनेको छ । मुख्य कुरो भनेको पैसाको कारणले कुनैपनि विद्यार्थी पढाईबाट बन्चित नहोउन भन्नेमा केन्द्रित हुँदा हुन्न र ? बेठीक र गलत गर्दा पनि आफ्ना नजिकका भनेर ढाकछोप गर्ने अनि राम्रा र असल काम गर्नेलाई बेवास्ता गर्ने निकृष्ट कर्मको बन्धनबाट मुक्त भै शिक्षामा दण्ड र प्रोत्साहनका मुद्धालाई प्राथमिकतामा राख्ने हिम्मत गर्नुहोस । आफ्नो चाकडी र प्रशंशा गर्ने मात्रै ठीक र राम्रा अरु सबै बेठीक र नराम्रा देख्ने चस्मा आजै मिल्काउदाँ हुन्न र ? सस्ता र लोकप्रिय नारा बोकेर हैन, यथार्थ र वस्तुवादी अनि बिश्वासिलो बनेर देखाउनु हुने बिश्वासका साथ प्रस्तुत हुने अपेक्षा सहित हार्दिक शुभकामना ब्यक्त गर्दै यो पत्र यहिं टुंग्याउने अनुमती चाहन्छु ।
—एक शुभचिन्तक
