हेटौँडा : बागमती प्रदेशको दुई जिल्लामा एकैदिन २ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा फरक फरक घटनामा बिहीबार २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३, टारमा आइचर ट्रक अनियन्त्रित भई सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ । बिहीबार राती ११ बजेर ३५ मिनेटको समयमा मेलम्ची–साँखु भित्री सडक खण्डअन्तर्गत फट्केश्वरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख ६९०३ नम्बरको आइचर ट्रक (चिप्स लोड गरिएको) आफैँ अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ट्रक चालक काठमाडौँ जिल्लाको शङ्खरापुर नगरपालिका–१ का ३५ वर्षीय सेते तामाङ गम्भीर घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि नगर अस्पताल मेलम्ची लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिका–११, माथिल्लो धनसरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा दुधौली–११ निवासी ६५ वर्षीय रामबहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान ९ बजेर ५० मिनेटको समयमा रामबहादुर धनसरी खोलाको झोलुङ्गे पुल नजिक घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए । मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि नगर अस्पताल सिर्थौलीमा लगिएको प्रहरीले जानकारी दिएको छ ।











