हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएको छ । मंगलबार विद्यालयको बाल समूहले आयोजना गरेको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको तुलसीमेहरले नगद ५० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा हेटौँडा–४ स्थित ब्रह्मदिक् एकेडेमी द्वितीय, हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जिएस) निकेतन माध्यमिक विद्यालय तृतीय र हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालय सन्त्वना स्थान हासिल गरेको हो । द्वितीय, तृतीय र सन्त्वना भएको विद्यालयले क्रमशः २५ हजार, १५ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका लागि पुरस्कारको व्यवस्था हेटौँडा २ नम्बर वडा कार्यालयले गरेको हो ।
प्रतियोगितामा संस्थागत र सामुदायिक गरी ३६ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको पहिलो चरणबाट उत्कृष्ट १४ जना छनोट गरिएको थियो । दोस्रो चरणमा उत्कृष्ट ८ वटा विद्यालय छनोट गरिएको अन्तिमा ४ वटा विद्यालय विजेत बनेको हो । विजेताहरुलाई बिहीबार स्वर्ण महोत्सवको समापन समारोहमा पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।
