Home मुख्य समाचार प्रगति माविको स्वर्ण महोत्सव : पूर्वप्रअलाई सम्मान, संस्थापक प्रअको शालिक बनाइयो

प्रगति माविको स्वर्ण महोत्सव : पूर्वप्रअलाई सम्मान, संस्थापक प्रअको शालिक बनाइयो

विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन समारोहमा सम्मानित पूर्वप्रधानाध्यापकहरु ।

हेटौँडा : हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव विविध कार्यक्रमसहित सुरु भएको छ । मंगलबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको उद्घाटन गर्नुभयो ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयले मंगलबार विद्यालय गीत सार्वजनिक गरेको छ । विद्यालयका पूर्वविद्यार्थी साहित्यकार विना थिङले रचना गर्नुभएको विद्यालय गीतमा पूर्वविद्यार्थी चेतना सापकोटाले स्वर दिनुभएको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले बताउनुभयो । उद्घाटन समारोहमा विद्यार्थीले साँस्कृतिक कला प्रस्तुत गरेका थिए । शिक्षकहरुले पनि नृत्य प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको अध्यक्षतामा भएको स्वर्ण महोत्सव उद्घाटन समारोहमा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडाध्यक्षहरुको पनि आतिथ्य रहेको थियो ।

स्वर्ण महोत्सवको अवसरमा विद्यार्थीले खानाका स्टलहरु राखेका थिए भने शैक्षिक सामग्री प्रदर्शनीमा राखेका थिए । स्वर्ण महोत्सवको अवसरमा विद्यालयले यसअघि महिला शिक्षक भलिबल, जिल्लास्तरीय शिक्षक सम्मेलन आयोजना गरेको थियो । यसैगरी आज बुधबार विद्यालयले साहित्य सम्मेलनको आयोजना गर्दैछ । साहित्य उत्सवको आयोजना गरिएको छ । साहित्य उत्सवमा जिल्लाभरका विभिन्न विद्यालयका विद्यार्थीको रचना वाचन, साहित्यकारभूपिन, निमेष निखिल र बिना थिङको सहभागितामा पठन संस्कृति विषयक बहस हुनेछ भने मकवानपुरका साहित्यकारहरुको पनि रचना वाचन कार्यक्रम हुनेछ ।

स्वर्ण महोत्सव समारोहको उद्घाटन कार्यक्रममा विद्यालयले विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारी, शिक्षक अभिभावक संघका पूर्वपदाधिकारीहरु र पूर्वप्रधानाध्यापकहरुलाई सम्मान गरेको प्रधानाध्यापक पराजुलीले जानकारी दिनुभयो । विद्यालयले मंगलबारदेखि शुक्रबारसम्म स्वर्ण महोत्सव विशेष कार्यक्रम गर्ने जनाएको छ । स्वर्ण महोत्सव समापनको अवसरमा स्मारिका सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक पराजुलीले जानकारी दिनुभयो ।

स्वर्ण महोत्सवकै अवसरमा छात्रवृत्ति अक्षयकोषमा १० लाख रुपैयाँ रकम थप भएको छ । विद्यालयको अक्षयकोषमा २० लाख रुपैयाँ जम्मा भइसकेको छ । यस्तै स्वर्ण महोत्सवका लागि सहयोग संकलन अभियानबाट ३२ लाख रुपैयाँ संकलन भएको छ । शुक्रबार स्वर्ण महोत्सव समापन समारोहमा विद्यालयका संस्थापक प्रधानाध्यापक राधादेवी शाहको प्रतिमा अनावरण गरिँदैछ । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा १ हजार २ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version