
हेटौँडा : भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरले सदाचार प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनीकरणका लागि मकवानपुर जिल्लाका कार्यालय प्रमुखहरुलाई अभिमुखीकरण गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको नियमित कार्यालय प्रमुखहरुको बैठकमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
संस्थाका अध्यक्ष केदारप्रसाद चौलागाई र सचिव सुरेश श्रेष्ठले कार्यालय प्रमुखहरुलाई सेवा प्रवाहमा नागरिकको गुनासो नरहने गरी, सुशासन प्रत्याभूत गर्न आग्रह गर्नुभयो । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका पदाधिकारी तथा सदस्यहरुले सरकारी तथा सार्वजनिक कार्यालयहरुको अवलोकन भ्रमण तथा सेवाग्राहीसँग प्राप्त सेवा, सुविधाका विषयमा अन्तरक्रिया समेत गर्ने योजनाबारे जानकारी गराउँदै त्यस किसिमको कार्यमा स्थानीय प्रशासनको सहमति र साथ रहेकोले कार्यालय प्रमुखहरुले अवलोकन तथा सेवाग्राहीसँगको अन्तरक्रियामा सहजीकरण गरिदिन पनि संस्थाका अध्यक्ष चौलागाईले कार्यालय प्रमुखहरुलाई आग्रह गर्नुभएको छ ।
हेटौँडा–९ स्थित मानवसेवा आश्रमको सभाकक्षमा आयोजित नियमित कार्यालय प्रमुखहरुको भेलामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको प्रयास र भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुहुँदै त्यसमा स्थानीय प्रशासनको साथ र सहयोग रहनुका साथै कार्यालय प्रमुखहरुलाई पनि सहजीकरणका लागि आग्रह गर्नुभएको छ ।
यस्तै संस्थाले हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारीलाई पनि सदाचार प्रवद्र्धनमा सहयोग गर्न, विद्यालयको कामकारवाहीमा भ्रष्टाचार शून्य बनाउन आग्रह गरेको छ । स्वर्ण महोत्सव उद्घाटन समारोहपछि व्यवस्थापन समिति, शिक्षक, कर्मचारीको संक्षिप्त समीक्षा कार्यक्रममा सहभागी भई भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरका सचिव सुरेश श्रेष्ठले विद्यालयका शिक्षकले विद्यार्थी र समुदायमै सदाचार प्रवद्र्धन गर्न सक्ने भएकोले त्यसतर्फ ध्यान दिन र विद्यालय प्रशासनको कामकारवाहीलाई पादरर्शी, जिम्मेवार र भ्रष्टाचाररहित बनाउन आग्रह गर्नुभयो ।
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरका पदाधिकारीको उपस्थितिमा प्रधानाध्यापक किशोर पराजुलीले सदाचार प्रवद्र्धनमा विद्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै विद्यालयको नियमित क्रियाकलाप भ्रष्टाचाररहित भएको, सुशासन र पारदर्शिता कायम गरिएको बताउनुभयो । विद्यालयको स्वर्ण महोत्सव समारोहमा पूर्वविद्यार्थीको महत्वपूर्ण सहयोग रहेको र उक्त सहयोगलाई पारदर्शी, किफायती बनाउँदै बचत भएको रकम अक्षयकोष बनाएर विद्यार्थीको रचनात्मक क्रियाकलापमा सदुपयोग गरिने बताउनुभयो ।