हेटौँडा : हेटौँडा–११ स्थित दुई बस्ती पिउनेपानी व्यवस्थापन समितिको अध्यक्षमा देवकुमार श्रेष्ठ चयन हुनुभएको छ । सोमबार भएको समितिको २५ औ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनबाट श्रेष्ठकै अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।
समितिको उपाध्यक्षमा सुप्रभा रिमाल, सचिवा कृष्णप्रसाद खनाल, सहसचिवमा पार्वती देवकोटा र कोषाध्यक्षमा महेन्द्र पाण्डे चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा रामचन्द्र कठायत, लक्ष्मण बानियाँ, सुधा पुडासैनी, शिवप्रसाद अगस्ती, माधुरी राना र पुष्पराज मगर चयन हुनुभएको छ । साधारण सभाको उद्घाटन कार्यक्रम समितिका अध्यक्ष श्रेष्ठको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका–११ नम्बर वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष महेन्द्र पाण्डेले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा ३०१ घरधुरी उपभोक्ता रहेको समितिले खानेपानी क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै पूर्ववडा अध्यक्ष काशीनाथ बजगाईंलाई परोपकार सम्मान प्रदान गरेको छ । आगामी आर्थिक वर्षमा बृहत् खानेपानी योजना अन्तर्गत नयाँ पानीको स्रोतबाट लिफ्टिङ प्रणालीमार्फत पानी शुद्धीकरण प्लान्टमा ल्याई शुद्ध खानेपानी वितरण गरिने तथा क्रमशः खानेपानी समितिहरूबीच एकीकरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।
कार्यक्रममा जिल्ला विकास समिति मकवानपुरका पूर्वसभापति रामेश्वर राना, डाङडुङ्गे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शालिकराम पुडासैनी, पूर्वअध्यक्ष ठाकुरप्रसाद पौडेल, जिम्बाडाँडा खानेपानी समितिका अध्यक्ष लालकृष्ण प्याकुरेल, सडक क्षेत्र खानेपानी समितिका अध्यक्ष ध्रुवप्रसाद पराजुली, सरस्वती खानेपानी समितिका सचिव देवप्रसाद ढकाल, डाङडुङ्गे टोलका अध्यक्ष प्रभाकर पुडासैनी, भैरबकुञ्ज टोलका अध्यक्ष मेघनाथ रेग्मी, दुम्सिडाँडा टोलका अध्यक्ष शिवप्रसाद अगस्ती लगायतको आतिथ्य रहेको थियो ।











