Home मुख्य समाचार लागूऔषध सेवन गरी सवारी चलाउने ११ जना चालक भीमफेदीबाट पक्राउ

लागूऔषध सेवन गरी सवारी चलाउने ११ जना चालक भीमफेदीबाट पक्राउ

भीमफेदीमा सवारी चालकको स्वास्थ्य जाँच गरिँदै ।

हेटौँडा : हेटौँडा–काठमाडौं जोड्ने छोटो मार्ग भीमफेदी–कुलेखानी सडकमा लागूऔषध सेवन गरी सवारी चलाउने ११ जना चालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र सवारी यान्त्रिक परीक्षण कार्यालय हेटौँडाको संयुक्त टोलीले सुरक्षाजाँचका क्रममा मंगलबार ११ जनालाई पक्राउ गरिएको हो ।

भीमफेदी अस्पतालका चिकित्सक डा. प्रविण पाठकसहितको टोलीले १ सय ११ जना सवारी चालकको पिसाब परीक्षण गर्दा ११ जनाले लागूऔषध सेवन गरेको पाइएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्त श्रेष्ठका अनुसार लागूऔषध सेवन गर्ने ११ जनामध्ये ९ जना सार्वजनिक यातायातका चालक रहेका छन् । उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा ६ जना सुमो चालक र ३ जना इभी (विद्युतीय) गाडीका चालक रहेको र अन्य २ जना भने फलफूल र माछा बोक्ने सवारी साधनका चालक रहेको प्रहरीले जानकारी दिएको छ । पहाडी क्षेत्रको घुमाउरो र साँघुरो सडकमा सवारी दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीको समन्वयमा चालक र सवारीको विशेष परीक्षण सुरु गरिएको प्रहरीको भनाई छ । यात्रुको जीउधनलाई जोखिममा पार्दै लापरवाहीपूर्वक सवारी चलाउने ती चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले स्पष्ट पारेको छ ।

पुस २० गते भीमफेदी गाउँपालिका–६, जुरिखेतमा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । घाइतेको उपचार भइरहेको छ । यही घटनापछि स्थानीय प्रशासन र प्रहरीलाई सर्वसाधारणले मादक पदार्थ तथा लागूऔषध सेवन गरेको विषयमा जाँच गर्न, गराउन माग गर्दै आएका थिए ।

Exit mobile version