राष्ट्रिय तथ्यांक कार्यालयले गत शुक्रबार ‘गरिबीको लघुक्षेत्र अनुमान–२०८२’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले मकवानपुरको राक्सिराङ गाउँपालिकामा गरिबी उच्च दरमा रहेको देखाएको छ । देशभर सबैभन्दा बढी गरिबी दर भएका १० वटा स्थानीय तहमध्ये राक्सिराङ छैटौँ स्थानमा परेको हो । मकवानपुर जिल्लाका १० वटा स्थानीय तहमध्ये विकट रहेको राक्सिराङ देशभरकै गरिबीको संख्या धेरै रहेको स्थानीय तह बनेको छ । चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङमा २०७८ को जनगणना अनुसार २५ हजार ९ सय ९६ जनसंख्या छ । त्यसमध्ये १७ हजार ६३ (६५.६४ प्रतिशत) बासिन्दा गरिबीको रेखामुनि रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रतिव्यक्ति वार्षिक ७२ हजार ९०८ रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिबीको रेखामुनि राखेको छ । कुल जनसंख्याको २० दशमलब २७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको प्रतिवेदनमा उल्लेख छ ।
देशभरका ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै जाजरकोटको जुनीचाँदी गाउँपालिकामा ७७ दशमलब ८९ प्रतिशत बासिन्दा गरिबीको रेखामुनि छन् । मुगुको सोरु गाउँपालिकामा ७२ दशमलब ३६ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको प्रतिवेदनमा उल्लेख छ । अछामको ढकारी र बैतडीको सिगास गाउँपालिका तथा अछामकै कमलबजार नगरपालिका गरिबी बढी रहेको स्थानीय तहको सूचीमा क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । डोटीको शिखर नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिका सातौँ र आठौँ स्थानमा छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका र बैतडीको शिवनाथ गाउँपालिका नवौं र दसौं स्थानमा छन् । सबैभन्दा कम गरिबीको दर भएको स्थानीय तहको सूचीमा मुस्ताङको घरपझोङ गाउँपालिका पहिलो नम्बरमा छ । उक्त गाउँपालिकामा १ दशमलब १८ प्रतिशत जनसंख्यामात्र गरिबीको रेखामुनि छन् ।
मकवानपुर जिल्लाका स्थानीय तहमध्ये राक्सिराङपछि बागमती गाउँपालिकामा गरिबीको दर उच्च रहेको छ । बागमतीको ३० हजार ४२५ जनसंख्यामध्ये १४ हजार ५७२ (४७.९ प्रतिशत) गरिबीको रेखामुनी छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका गरिबी बढी हुनेमा तेस्रो स्थानमा छ । इन्द्रसरोवरको १३ हजार ५३४ जनामध्ये ५ हजार ७४४ जना (४२.४४ प्रतिशत) गरिबीको रेखामुनि रहेको प्रतिवेदनमा उल्लेख छ । कैलाश गाउँपालिकाको २१ हजार ८५६ जनामध्ये ८ हजार ८४३ जना (४०.४६ प्रतिशत) गरिब छन् । मकवानपुरगढी र बकैया गाउँपालिकाको गरिबीको दर क्रमशः ३०.४२ र ३०.२ प्रतिशत रहेको छ । मनहरी र भीमफेदी गाउँपालिकाको गरिबीको रेखामुनि रहेका जनसंख्याको दर क्रमशः २६.३१ र २५.०१ प्रतिशत छ । जिल्लाको थाहा नगरपालिकाको गरिबीको दर २४.७५ प्रतिशत हुँदा हेटौँडा उपमहानगरपालिकाको गरिबीको दर भने ७.७ प्रतिशतमात्र छ ।
गरिबी निरपेक्ष र सापेक्ष हुने भए पनि प्रतिवेदनले निरपेक्ष गरिबीको तथ्यांकलाई उजागर गरेको हो । प्रतिवेदनले दैनिक २ सय रुपैयाँभन्दा कम आम्दानी हुनेलाई गरिब मानेका कारण राक्सिराङ गाउँपालिकाका झण्डै दुई तिहाई जनसंख्या न्यूनतम आधारभूत आवश्यकताबाट समेत वञ्चित रहेको देखाउँछ । भौगोलिकरुपमा विकट र आयआर्जनको भरपर्दो स्रोत नहुँदा विकासमा पछि परेका कारण राक्सिराङमा गरिबीको दर बढी रहेको प्रष्ट हुन्छ । विगतमा एकात्मक शासन व्यवस्था हुँदा राज्यको ध्यान पुग्न नसकेको त्यस क्षेत्र संघीय शासन व्यवस्थामा पनि उपेक्षित नै रहेको तथ्यांकले देखाउँछ । दुर्गम मुस्ताङको गाउँपालिकामा सबैभन्दा कम गरिबी रहँदा सुगम मकवानपुरको राक्सिराङमा गरिबीको दर उच्च हुनुले धेरै रहस्य उजागर गर्न सक्छ । गरिबी न्यूनीकरणमा तीनै तहको सरकारले विशेष ध्यान दिनु आवश्यक छ । राक्सिराङमात्र नभई गरिबीको दर उच्च रहेका सबै स्थानीय तहमा संघीय र प्रदेश सरकारले लगानी बढाउनुपर्छ ।











