हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको अठारौँ नगर अधिवेशनले बजेट रकममा थप ३ करोड खर्च वृद्धि गर्दै बजेट संशोधन गरेपनि आम्दानी प्राप्त हुने स्रोतबारे स्पष्ट भएको छैन । वर्तमान परिवेशमा उपमहानगरपालिकाले आम्दानीका स्रोतहरु घट्दै गएको अवस्था रहँदै गर्दा बजेटमा भने खर्चको मात्रा वृद्धि गरेको हो ।
अघिल्लो नगरसभाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजार कुल बजेट अनुमान गरेकोमा शुक्रबार सम्पन्न अधिवेशनले बजेटमा खर्चको कार्यक्रम थप गर्दै कुल २ अर्ब ९३ करोड ५० लाख बजेट अनुमान गरेको थियो । यसले गर्दा उपमहानगरपालिकालाई ३ करोड ४६ लाख ९० हजार रुपैयाँ व्ययभार थपिनेछ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड भएका विभिन्न सरकारी संरचना पुनर्निर्माणका लागि संघीय सरकारले पनि प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गर्दै आएका विभिन्न अनुदानहरुमा कटौती गर्ने निर्णय गरेको र बागमती प्रदेश सरकारले पनि आफ्ना बजेट कार्यक्रमहरुमा खर्च कटौती गरी कार्यक्रमहरु संशोधन गरेको अवस्थामा हेटौँडा उपमहानगरपालिकाले भने पूरक बजेटको नाममा खर्च बढाएको देखिन्छ ।
उपमहानगरपालिकाले सामान्य प्रशासन, सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, शिक्षा विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र महिला बालबालिका तथा समावेशीकरण महाशाखाहरुमार्फत हुने योजना तथा कार्यक्रममा कुल ४१ करोड ५२ लाख ३० हजार रकम बराबरका योजनाहरु कटौती गरेको जनाएको छ । यस्तै, बजेट संशोधनमार्फत प्रशासन, जिन्सी तथा मर्मत सम्भारलगायतका पुनर्निर्माणका लागि १३ करोड १९ लाख खर्च गर्ने अनुमानसहित कुल ४० करोड ९७ लाख ५३ हजार बराबरको योजनाहरुमा थप खर्च गर्नेगरी बजेट ल्याएको छ ।
यस वर्ष कार्यान्वयन हुने योजनाहरुमा वडा सिलिङ तथा सशर्त योजनामा कुनै हेरफेर नगरिकन आगजनी तथा तोडफोड भएका संरचनाको पुनर्निर्माण, म्याचिङ फण्डमा नपुग हुने रकम व्यवस्थापन र अत्यावश्यक देखिएका योजना सञ्चालन गर्न पुँजीगत खर्चतर्फ अपुग हुने रकममात्र रकमान्तर श्रोतान्तर हुने उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले बताउनुभयो । उहाँले बजेट अनुमान संशोधन गरे पनि स्रोत सुनिश्चित भएपछिमात्रै खर्च गर्न स्वीकृति प्राप्त हुने बताउनुभयो । उहाँले आन्तरिक स्रोतबाटै थप गरिएको बजेट खर्च प्राप्त हुने आँकलन उपमहानगरपालिकाले गरेको स्पष्ट पार्नुभएको छ । वडाहरुमा विगतदेखि सुरु भई कार्यान्वयन भइरहेका अपुरा र छुटेका योजनाहरु पूरा गर्न बजेट रकम थप गर्नुपरेको उहाँले बताउनुभयो ।
बजेट संशोधनबाट बढेको खर्च गर्न उपमहानगरपालिकाको स्रोत व्यवस्थापन गरी आन्तरिक स्रोतबाट नै प्राप्त गर्न सकिने हेटौँडाको ९ नम्बर वडा अध्यक्ष सुकराम केसीले बताउनुभयो । उहाँले बजेट आवश्यक भएरै खर्च थप गरेर संशोधन गरिएको बताउनुभयो । २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन भने थप भएको बजेटको भरपाई गर्ने आम्दानीको स्रोत यकिन रुपमा नखुलेको स्वीकार्नुहुन्छ । पहिलेका भुक्तानी तिर्नुपर्ने काम सकाउनुपर्नेमा खर्चको रकम थप गरेकाले पछि समस्या बढ्ने उहाँको आशंका छ । ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले उपमहानगरपालिकाको बजेट संशोधनको थप खर्च समेट्ने आम्दानीको स्रोत भविष्यमा हुने कुरामा आशावादी रहेको बताउनुभयो । उहाँले आम्दानीको स्रोतबारे भने स्पष्ट पार्नु भएन ।
उपमहानगरपालिकाको प्रशासनिक खर्च तथा संरचना पुनर्निर्माणको भार थपिनु, हेटौँडाको राजमार्गका घरहरु भत्किँदा व्यवसायीहरुले तिर्ने कर घट्नु, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने बजेटमा कमी आउनु, विस्थापित व्यवसायी तथा घरधनीहरुलाई करछुट तथा सहयोगका कार्यक्रम थपिनुजस्ता परिवेशमा उपमहानगरपालिकाको खर्च बढ्ने र आम्दानी तथा राजस्वका स्रोतहरु घट्ने अनुमान छ । उपमहानगरपालिकाका विभिन्न समितिहरु मार्फत बजेटको आकार घटाउनेगरी बजेट संशोधनको तयारी भएको थियो । उपमहानगरपालिकाले छलफलपश्चात ५४ लाख ७६ हजार बजेट घटाएर संशोधन गरिसकेको अवस्थामा पुन नगरसभा सुरु हुने अन्तिम समयमा तीन करोड ४६ लाख रुपैयाँ बजेट थप गर्ने गरी बजेट संशोधन भएको थियो ।