साधारणसभामा सहभागी अतिथिहरु ।

हेटौँडा : हेटौँडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले लगानी बढाएको छ । अघिल्लो आर्थिक वर्षको तुलना गत आर्थिक वर्ष नारायणीले १ करोड भन्दा बढीले लगानी बढाएको हो । अघिल्लो आर्थिक वर्षमा २४ करोड २० लाख रुपैयाँ लगानी गरेको नारायणीले गत आर्थिक वर्ष २०८१/८२ मा २५ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ ।

नारायणीको बचतमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २८ करोड ७३ लाख रुपैयाँ बचत संकलन गरेको नारायणीले आर्थिक वर्ष २०८१/८२ मा ३२ करोड २५ लाख रुपैयाँ बचत संकलन गरेको छ । २ हजार २ सय ६५ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ६ करोड ६ लाख रुपैयाँ रहेको छ । शनिबार सहकारीको २९औं वार्षिक साधारणसभामा अध्यक्ष जंगबहादुर गुरुङले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा सहकारीको ४ वर्षे रणनीति तयार पार्नुपर्ने प्रस्ताव गर्नुभएको छ । सहकारीका अध्यक्ष गुरुङको अध्यक्षतामा साधारणसभा भएको हो ।

साधारण सभाबाट शनिबार नै नयाँ सञ्चालक समिति भने गठन हुन सकेन । सहकारीको सञ्चालक समिति चयनका लागि माघ ३ गतेका लागि निर्वाचनको कार्यक्रम तय गरिएको छ । सहकारीको अध्यक्षमा जंगबहादुर गुरुङ र कुमार पौडेलको उम्मेदवारी रहेको छ । यस्तै उपाध्यक्षमा केशवप्रसाद न्यौपाने र नारायणप्रसाद खतिवडाको उम्मेदवारी रहँदा सचिवमा विमल कुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । लेखा समिति संयोजकमा गीतानाथ ढुंगाना सर्वसम्मत निर्वाचित हुनुभएको छ । सञ्चालक समितिको ३ जना महिला सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको छ । यस्तै खुला सदस्य ३ जनाका लागि १० जनाको उम्मेदवारी परेको छ ।