हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तार गरिएका जोखिमपूर्ण घरहरुमा व्यापार व्यवसाय गर्न रोक लगाएको छ । प्रशासन कार्यालयले हेटौँडा उपमहानगरपालिका अन्तर्गत सडक विस्तारका क्रममा भत्काइएका र जोखिमपूर्ण अवस्थामा रहेका घरटहराहरुमा व्यापार व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको हो ।
मंगलबार एक जरुरी सूचना जारी गर्दै प्रशासनले सडक सीमाभित्र परेर भत्काइएका संरचनाहरुमा अझै पनि व्यापार व्यवसाय सञ्चालन भइरहेको पाइएकोले तत्काल रोक्न निर्देशन दिएको हो । हाल सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारको कार्य स्थगित भए पनि भत्काइएका संरचनाहरु व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीले जोखिमपूर्ण घरमै व्यापार गरिरहेको देखिएकाले प्रशासनले सो कार्य रोक्न निर्देशन गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, ‘भत्किएका तथा जोखिमपूर्ण संरचनाभित्र कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न र नगराउनु हुन अनुरोध छ ।’ यदि कसैले चेतावनीको बेवास्ता गरी व्यवसाय सञ्चालन गरेमा र त्यसबाट कुनै पनि किसिमको विपद्जन्य घटना वा दुर्घटना घटेमा त्यसको पूर्ण जिम्मेवार घरधनी र सम्बन्धित व्यवसायी स्वयं हुने प्रशासनको सूचनामा उल्लेख छ । साथै, संरचना व्यवस्थापनका क्रममा कामदारहरुको सुरक्षालाई उच्च प्राथमिकता दिन समेत सम्बन्धित सबैमा आग्रह गरिएको छ ।
सडक डिभिजन हेटौँडाको सूचना बमोजिम रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक विस्तारका क्रममा गत मंसिर २० गते घरटहराहरु भत्काइएको थियो ।
