Home मुख्य समाचार कैलाशमा सब–डिभिजन स्तरीय वन योजना तर्जुमा गोष्ठी

कैलाशमा सब–डिभिजन स्तरीय वन योजना तर्जुमा गोष्ठी

हेटौँडा : डिभिजन वन कार्यालय राप्ती, मनहरीको आयोजनामा राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत सब–डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सोमबार डिभिजन वन कार्यालय राप्तीका प्रमुख हेमबहादुर थापाको अध्यक्षता तथा कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको प्रमुख आतिथ्यमा गोष्ठी भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष मल्लले कैलाशको भूगोल, वातावरण र वस्तुस्थितिलाई आधार मानेर व्यवहारिक योजना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले उपभोक्ता समितिलाई सक्रिय बनाउँदै सामुदायिक वन समूहसँग प्रत्यक्ष समन्वय गरेर योजना तर्जुमा गर्न सके कार्यान्वयन प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

गाउँपालिकाले वन ऐन निर्माण गरिसकेको जनाउँदै उपाध्यक्ष मल्लले वन, कृषि र उद्यमसँग जोडिएका कार्यक्रमहरू योजनामा समेटेर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । डिभिजन वन कार्यालयसँग सहकार्य गरी योजना कार्यान्वयन गरिने उहाँको भनाइ थियो ।

डिभिजन वन कार्यालय प्रमुख थापाले आफ्नो कार्यक्षेत्रमा ८ वटा सब–डिभिजन वन कार्यालय रहेको जानकारी गराउँदै सामुदायिक, धार्मिक, कवुलियत र निजी वनसँग समन्वय गरी यस्ता गोष्ठीमार्फत योजना संकलन गरिने बताउनुभयो । वन पैदावार चोरी तथा वन्यजन्तु शिकारीको चुनौती बढ्दो रहेकाले पालिकासँग सहकार्य गरेर नियन्त्रणमा लाग्ने उहाँले बताउनुभयो ।

सब–डिभिजन वन कार्यालय कैलाशका वन अधिकृत वीरबहादुर योन्जनले योजना तर्जुमाको उद्देश्य, हाल सञ्चालनमा रहेका कार्यक्रम तथा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । गोष्ठीमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर जोशी, योजना शाखा प्रमुख विक्रमबहादुर थिङसहित विभिन्न शाखाका प्रमुख, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कैलाश गाउँपालिकामा ३ वटा कवुलियत वनसहित २४ वटा सामुदायिक वन रहेका छन् ।

Exit mobile version