हेटौँडा : लागूऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम उद्घाटन भएको छ । सोमबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजना र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा कार्यक्रम उद्घाटन भएको हो ।
कार्यक्रममा मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले कार्यक्रमको रुपरेखा प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षको मंसिरसम्ममा मकवानपुर जिल्लामा लागूऔषध सम्बन्धी ९० वटा मुद्दा दर्ता भएको बताउनुभयो । जसमध्ये सबभन्दा बढी जिल्ला प्रहरी कार्यालयमा ७८ वटा, इलाका प्रहरी कार्यालय मनहरीमा १० वटा र इलाका प्रहरी कार्यालय पालुङमा २ वटा मुद्दा दर्ता भएको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा लागूऔषधसम्बन्धी १ सय ८८ वटा मुद्दा दर्ता भएको थियो । पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा लागूऔषधसम्बन्धी कसुर प्रत्येक वर्ष वृद्धि हुँदैछ । आर्थिक वर्ष २०७८/०७९ मा १ सय ४९ वटा, आर्थिक वर्ष २०७९/०८० मा १ सय ५३ वटा र आर्थिक वर्ष २०८०/०८१ मा १ सय ५८ वटा मुद्दा दर्ता भएको थियो ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मा लागूऔषध मुद्दामा १ जना ४८ जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । लागूऔषध सेवन तथा कारोबारमा पछिल्लो समय पुरुषसँगै महिलाको संख्या पनि उल्लेखनीय रुपमा बढेको छ । यो वर्षमात्रै १२१ जना र पुरुष र १२ जना महिला पक्राउ परेका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा २ सय ८९ जना पक्राउ परेका थिए ।
हेटौँडा उपमहानगरपालिकाका वडाहरु मध्ये लागूऔषधबाट सबैभन्दा बढी प्रभावित १० नम्बर वडा देखिएको छ । मंसिर मसान्तसम्म वडा नम्बर १० बाट १६ जनालाई र वडा नम्बर ३ बाट ९ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्याङ्क छ ।
मकवानपुरमा सबभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजाको कारोबार भएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्ममा जिल्लाका विभिन्न स्थानबाट एक हजार ६३३ किलो १६८ ग्राम गाँजा बरामद भएको छ । यसैगरी अफिम २३ किलो ४७० ग्राम, खैरो हिरोइन १८० ग्राम ८६६ मिलिग्राम, १२ हजार ३ सय ३८ वटा एम्पुल, कोरेक्स ४० बोतल र २८ हजारभन्दा बढी अन्य क्याप्सुलहरु प्रहरिले बरामद गरेको छ ।
प्रहरी नायब उपरीक्षक बोगटीले विद्यार्थी, चालक, सहचालकलगायत वर्गहरुलाई लक्षित गरी विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । यो वर्ष विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम २२ कक्षा, चालक सहचालक लक्षित २ वटा कार्यक्रम, टोल सुधार समिति लक्षित ५ वटा, पुनस्थापना केन्द्र लक्षित ४ वटा र सरोकारवाला निकायहरुसँग ४ पटक बैठक तथा छलफल गर्ने प्रहरीको योजना रहेको छ ।
भौगोलिक अवस्थिति र खुला सिमानाले गर्दा मकवानपुरमा लागूऔषध व्यापक फैलिएको प्रहरीको भनाइ छ । लागूऔषध प्रयोगमा युवाहरुको संलग्नता दिन प्रतिदिन बढ्दो क्रममा छ । लागूऔषध सम्बन्धी कसुर रोकथाममा सामाजिक र सांस्कृतिक कारण, गरिबी तथा बेरोजगारीजस्ता ठूला चुनौतीहरु देखिएको छ ।
कार्यक्रममा बोल्नुहुँदै विशिष्ट अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागूऔषध दुव्र्यसनका कारण सवारी दुर्घटना र लैङ्गिक हिंसा बढेको बताउनुभयो । अपराधको जरा नै लागूऔषध भएको उहाँको भनाइ छ । लागूऔषध दुव्र्यसनीको सङ्ख्या वर्षेनि ११ दशमलब ३७ प्रतिशतले बढिरहेको र लागूऔषधजन्य अपराध रोक्न सबै तहका लागि कानुनी आधारहरु ऐन र नीतिमा स्पष्टरुपमा व्याख्या गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो । उहाँले गाँजा र अफिम विस्थापित गर्ने विषय प्रदेश सरकार र स्थानीय तहले आफ्नो वार्षिक कार्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै, लागूऔषध दुव्र्यसन र कारोबार रोक्न सबैको साथ र सहयोग आवश्यक रहेको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले बताउनुभयो । ‘नेपालका कारागारहरुमा रहेका कैदीबन्दीहरुमध्ये करिब २० प्रतिशत कैदीहरु लागूऔषध मुद्दामा सजाय भोगिरहेका छन्’, प्रदेश प्रहरी प्रमुख पौडेलले भन्नुभयो– ‘हामीले भारतबाट नेपाल भित्रिने ब्राउन सुगरको भरियालाई मात्रै समात्न सकेका छौँ, चाहेर पनि मुख्य व्यक्तिलाई समात्न सक्दैनौँ ।’
कार्यक्रममा प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकाकी नगरप्रमुख मीनाकुमारी लामा, अतिथि पत्रकार महासंघ बागमती प्रदेश समितका उपाध्यक्ष हरि हुमागाईं र विद्यालयका प्राधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
