हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा आइतबार साँझ ५ बजेर ३० मिनेटको समयमा भएको सुमो दुर्घटनामा परी थप एकजनाको सनाखत भएको छ । सोमबार बिहान थप एकजनाको सनाखत भएको हो ।
मृत्यु भएका ६ जना मध्ये ५ जनाको परिचय खुलेको छ । सोमबार बिहान सनाखत भएका हेटौँडा–१०, भुटनदेवीटोलका ४० वर्षीय कृष्णप्रसाद फुयाँल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभएको छ । यसअघि भारतको बिहार राज्यको पटनाका ४२ वर्षीय रजनीश कुमार, बिहारकै ५० वर्षीय रविन्द्र कुमार, हेटौँडा–४ कमलडाँडाकी ४० वर्षीया सविता लम्साल, हेटौँडा–२, कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवालको पहिचान भएको थियो ।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी सडकखण्डको जुरिखेतमा दुर्घटना भएको थियो । अन्दाजी ३५ वर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी घाइते भएका सुमो चालकसहित ३ जना उपचार भइरहेको छ । घाइते हुनेहरूमा सुमोचालक हेटौँडा–४ का ४५ वर्षीय गणेश थापा, सोही स्थान बस्ने १२ वर्षीय अभ्यास लम्साल र रौतहट जिल्लाकी २१ वर्षीया रिचा चौधरीको भरतपुरस्थित चितवन मेडिकल कलेज (पुरानो) मा उपचार भइरहेको छ । उनीहरु मध्ये चालक थापा र लम्सालको अवस्था गम्भीर रहेको छ भने चौधरी अवस्था मध्यम रहेको छ । घाईते अभ्यास सविताका छोरा हुन् ।
