Home मुख्य समाचार सेवाग्राहीलाई स्थायी लेखा नम्बर प्रदान गर्ने पहिलो पालिका बन्यो मनहरी

सेवाग्राहीलाई स्थायी लेखा नम्बर प्रदान गर्ने पहिलो पालिका बन्यो मनहरी

सेवाग्राहीलाई स्थायी लेखा नम्बर प्रदान गरिदै

हेटौँडाः आन्तरिक राजश्व कार्यालयबाट दिइँदै आएको करसेवा स्थानीय सरकारमार्फत सुरु गरिएको छ । बुधबार मकवानपुरको मनहरी गाउँपालिकाले सेवाग्राहीहरुलाई स्थायी लेखा नम्बर प्रदान गर्दै करसेवाको सुरुवात गरेको हो ।

योसँगै करसेवा प्रदान गर्ने मनहरी मकवानपुर जिल्लाकै पहिलो स्थानीय तह बन्न पुगेको छ । आन्तरिक राजश्व कार्यालय मकवानपुरको समन्वयमा भएको करसेवा सुरुवात कार्यक्रममा मनहरी–९, रजैयाकी श्रृजना तिमल्सिनाको व्यावसायिक फर्म समृद्धि टेलर्सको व्यावसायिक प्यान नम्बर अर्थात् स्थायी लेखा नम्बर प्रदान गर्दै कार्यक्रमको सुरुवात गरिएको थियोे । कार्यक्रममा पालिकाका २ जनालाई व्यक्तिगत स्थायी लेखा नम्बर र १ जना व्यवसायीलाई व्यावसायिक स्थायी लेखा नम्बर वितरण गरिएको मनहरी गाँउपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो ।

करसेवा सुरु भएसँगै पालिकाले व्यक्तिगत स्थायी लेखा नम्बर वितरण, आयकरमा दर्ता गर्ने, व्यावसायिक स्थायी लेखा नम्बर प्रदान तथा व्यवसाय दर्ता खारेजपश्चात व्यावसायिक लेखा नम्बर व्यक्तिगत नम्बरमा रुपान्तरण, संशोधन, अभिलेख राख्नेजस्ता करसम्बन्धी सामान्य सेवाहरु प्रदान गरिने पालिकाले जनाएको छ । यसबाहेक संघीय अर्थ मन्त्रालयबाट सूचना जारी गरी अख्तियारी भई आएमा अन्तःशुल्क दर्ता तथा इजाजतपत्र नवीकरणसम्बन्धी कार्यक्रम गर्न सकिने शर्तसमेत तोकिएको छ ।

पालिकाबाटै करसेवा सञ्चालन गर्दा हरेक राजश्वसम्बन्धी सेवा लिन हेटौँडास्थित आन्तरिक राजश्व कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको पालिका अध्यक्ष कालाखेतीले स्पष्ट पार्नुभयो । यसका साथै राज्यलाई प्राप्त हुने राजश्वको दायरासमेत बढ्ने उहाँको भनाइ छ । हाललाई पालिकाका सूचना प्रबिधि र राजश्व शाखाका कर्मचारीहरुले समन्वय गर्दे सेवालाई निरन्तरता दिने पनि उहाँले जानकारी दिनुभयो ।

गत कात्तिक १७ गते सुशीला कार्की नेतृत्वको संघीय मन्त्रिपरिषद्को करसेवा स्थानीय तहबाटै सञ्चालन गर्ने निर्णयअनुसार आन्तरिक राजश्व कार्यालय मकवानपुरले तयारी गरिरहेको थियो । यस्तै, बालेन्द्र शाह नेतृत्वको सरकारले १ सय दिनमा १ सय पालिकाहरुमा करसेवा सुचारु गर्ने निर्णयअनुसार कार्यक्रममा तिव्रता दिइएको कार्यालयले जनाएको छ ।

बुधबारबाट मनहरीमा सेवा सुरुवात गरेपछि बिहीबार बागमती गाँउपालिकाबाट करसेवा सुचारु गर्न लागिएको आन्तरिक राजश्व कार्यालय हेटौँडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । आउँदो सोमबार बकैया गाउँपालिकामा सेवा सुरु गरिने र बैशाख महिनाभित्रै थाहा नगरपालिकामा पनि करसेवा सुचारु गर्ने कार्यालयको योजना रहेको छ । यी पलिकामा सेवा सुचारु गराउन आन्तरिक राजश्व कार्यालयले आफ्ना कर्मचारीमार्फत सहजीकरण तथा तालिम प्रदान गरेको थियो ।

यस्तै, पालिकाहरुले पनि बायोमेट्रिक, क्यामरालगायतका सामग्रीहरु खरिद गरी तयारी गरिरहेको कार्यालयले जनाएको छ । आगामी असार मसान्तसम्म जिल्लाका दशवटै पालिकाहरुबाट करसेवा सुचारु गर्ने तयारी गरिरहेको प्रमुख कर अधिकृत सुवेदीले स्पष्ट पार्नुभयो । स्थानीय सरकारले नै करसेवा सञ्चालन गर्दा करदाता पहिचानमा सहज हुने, सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहज र राजश्वको दायरा बढ्दा राजश्वको परिमाणमा पनि वृद्धि हुने अपेक्षासहित संघीय सरकारले कार्यक्रमको थालनी गरेको प्रमुख कर अधिकृत सुवेदीको भनाइ छ ।

स्थानीय पालिकाबाट प्रदान गर्ने स्थायी लेखा नम्बर कार्डमा स्थानीय तहको समेत नाम उल्लेख हुनेछ । यसअघिको प्यान कार्डमा स्थानीय तहको नाम उल्लेख गर्ने गरिएको थिएन । स्थानीय पालिकाबाट करसेवाका सामान्य सेवा प्रदान गरी सहज बनाएकोमा राजश्वसम्बन्धी अनुगमन, उजुरी, करछलीका बिषय, करदाता शिक्षा, मूल्य अभिवृद्धि करमा दर्ता हुनुअघिको मूल्याङ्कन लगायतमा आन्तरिक राजश्व कार्यालयकै नेतृत्व रहने कार्यक्षेत्रगत सर्तमा उल्लेख गरिएको छ ।

Exit mobile version