
हेटौँडा : जिल्ला हुलाक कार्यालय मकवानपुरले लोक कल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रिकाका सम्पादक तथा प्रकाशकहरुसँग अन्तरक्रिया गरेको छ । आइतबार बिहान नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको सभाकक्षमा भएको अन्तरक्रियामा जिल्ला हुलाक कार्यालय मकवानपुरकी नायव सुब्बा सपना सिवाकोटीले लोक कल्याणकारी विज्ञापन प्रकाशनको विषयमा जानकारी गराउनु भएको थियो ।
हाल मकवानपुर जिल्लामा ५ वटा दैनिक समाचारपत्रसहित साप्ताहिक, पाक्षिक र मासिक गरी १८ वटा पत्रिकामा लोक कल्याणकारी विज्ञापन प्रकाशन भइरहेको सिवाकोटीले जानकारी दिनुभयो । अन्तरक्रियामा सहभागी प्रकाशक, सम्पादकले लोक कल्याणकारी विज्ञापनको दर बढाउनु पर्ने, विज्ञापन बोर्डले कटौती गर्दै आएको ३ प्रतिशत रकम पत्रिकाले नै पाउनुपर्ने सुझाव दिएका छन् । जिल्ला हुलाक कार्यालय मकवानपुरका प्रमुख रमेशप्रसाद लामिछानेको अध्यक्षतामा भएको अन्तरक्रियामा नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको पनि आतिथ्य रहेको थियो ।