हेटौँडाः सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई दिन नरोक्ने बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्पष्ट पार्नुभएको छ । बुधबार पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा भएको कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री बानियाँले निजी सञ्चार माध्यमलाई दिइने विज्ञापन नरोकिने बताउनुभएको हो ।
मुख्यमन्त्री बानियाँले निजी मिडियालाई पनि सरकारी विज्ञापन दिनका लागि आफूले प्रमुख सचिवलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । नेपाल सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रैै प्रकाशन तथा प्रशारण गर्ने निर्णय गरेको भए पनि प्रदेशमा कार्यान्वयन नगर्न माग गर्ने महासंघको केन्द्रीय सर्कुलरअनुसार प्रदेश समितिले मुख्यमन्त्रीसँग बुधबार अन्तरक्रिया गरेको हो ।
मुख्यमन्त्री बानियाँले यसअघि नै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरी यस विषयमा छलफल भएको जानकारी दिँदै सरकारी टेण्डरबाहेकका अन्य सबै सरकारी विज्ञापन निजी मिडियामा दिन नरोकिने जानकारी पाएको उल्लेख गर्नुभयो । उहाँले संविधान र लोकतन्त्रको मर्मअनुसार निजी क्षेत्रलाई प्रोत्साहन दिँदै राज्यले सहयात्री बनाउनुपर्नेमा विज्ञापन रोकिँदा लोकतन्त्रको मर्मविपरित हुन जाने बताउनुभयो ।
सरकारले मिडियालाई वैधरुपमा दर्ता र नवीकरण गर्न पाउने तर विज्ञापन नदिनु न्यायसंगत नभएको बताउँदै संघीय सरकारले प्रदेशसँग कुनै छलफल तथा समन्वय नै नगरी प्रधानमन्त्री कार्यालयबाट निजी मिडियालाई विज्ञापन नदिने आशयको पत्र आउनु सकारात्मक नभएको धारणा व्यक्त गर्नुभयो । उहाँले संघीय सरकारले समन्वय नगरी प्रदेशलाई प्रभाव पार्ने निर्णय गर्दै जाँदा संघ र प्रदेशबिच अधिकार र कर्तव्यबिच द्वन्द्व बढ्दै जाने आशंका व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश पत्रकार महासंघका संस्थापक अध्यक्ष प्रताप बिष्टले सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन हुँदा निजी मिडिया सञ्चालनमा आर्थिक प्रभाव पर्नेमात्र नभई स्थानीय सर्वसाधारणको पहुँचमा सूचना पुग्न नसक्ने दावी गर्नुभयो । उहाँले सरकारी मिडियाको तुलनामा निजी स्थानीय मिडियामा विज्ञापनको दर नै कम हुनाले खर्च कम हुने बताउनुभयो । महासंघको केन्द्रीय सर्कुलरअनुसार सातै प्रदेशका मुख्यमन्त्रीसमक्ष मिडियाका समस्या राख्ने कार्यक्रम अनुसार बुधबार बागमतीका मुख्यमन्त्रीसँग अन्तरक्रिया सम्पन्न भएको हो ।
