Home मुख्य समाचार हेटौँडाका विद्यालयमा पढाई सुरु

हेटौँडाका विद्यालयमा पढाई सुरु

हेटौँडा–४, कर्रास्थित श्रमिक माविमा बुधबार उपस्थित विद्यार्थी ।

हेटौँडा : हेटौँडाका विद्यालयहरुमा नयाँ शैक्षिक सत्रको पढाई सुरु भएको छ । हेटौँडाका केही विद्यालयले सोमबारदेखि पढाई सुरु गरेका हुन् । नयाँ शैक्षिक सत्रको भर्ना अभियान, पाठ्यपुस्तक वितरणसँगै पठनपाठन पनि सुरु गरेको हो ।

सोमबारबाट हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । सोमबारदेखि पठनपाठन सुरुवात गरिएको प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभयो । ७ सय भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा पहिलो दिन एक सय ५० को हाराहारी विद्यार्थी उपस्थित थिए भने बुधबार ३ सय भन्दा बढी विद्यार्थी विद्यालयमा उपस्थित भएका छन् । नयाँ शैक्षिकसत्र सुरुवात भइसकेको र नयाँ भर्ना अभियानसँगै पठनपाठन पनि सुचारु गरिएको प्रधानाध्यापक दाहालले बताउनुभयो । नयाँ भर्नाका लागि आवेदन दिएका विद्यार्थीको प्रवेश परीक्षा लिएर भर्ना गरिने उहाँको भनाइ छ । शैक्षिक सत्र २०८३ मा विद्यार्थी संख्या एक हजार पु¥याउने लक्ष्य रहेको पनि प्रधानाध्यापक दाहालले बताउनुभएको छ ।

यस्तै हेटौँडा–४ स्थित लिटिल बडी प्रि–स्कूलले पनि सोमबारदेखि पठनपाठन सुरु गरेको जनाएको छ । पूर्वप्राथमिक तह र प्राथमिक तहको मात्रै पठनपाठन हुने विद्यालयमा अभिभावकको व्यस्तताका कारण पनि छिट्टै पठनपाठन सुरुवात गरिएको प्रिन्सिपल युवराज दाहालले जानकारी दिनुभयो । हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयले बिहिबारबाट पठनपाठन सुरु गर्ने जनाएको छ । अमर माविका निमित्त प्रधानाध्यापक डीबी बर्तौलाले भर्ना अभियानसँगै पठनपाठन पनि सुचारु गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बिहिबारदेखि पठनपाठन सुरु गर्दा अर्को सोमबारबाट विद्यार्थीको उपस्थिति बढ्ने अपेक्षा गरिएको बर्तौलाले बताउनुभयो ।

Exit mobile version