Home मुख्य समाचार मकवानपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतकी श्रीमतिले दिइन् राजिनामा

मकवानपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतकी श्रीमतिले दिइन् राजिनामा

गाउँपालिकाले बिहीबार जारी गरेको सूचना ।

हेटौँडा: मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा अनियमित तरिकाबाट जनस्वास्थ्य अधिकृतमा करार सेवामा नियुक्त भएकी प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर सुधन लामिछानेकी श्रीमति प्रजिना भण्डारीले राजिनामा दिएकी छिन् । २८ दिनकी सुत्केरी रहँदा अनियमित तरिकाले सफल उम्मेदवार बनेकी भण्डारीले गत बिहीबार राजिनामा दिएको गाउँपालिकाले जनाएको छ ।

कात्तिक १७ गते करार सेवामा जनस्वास्थ्य अधिकृतको परीक्षा दिँदै गर्दा प्रजिना २८ दिनकी सुत्केरी थिइन् । उनलाई नै नियुक्त गर्ने योजना बमोजिम प्रमुख प्रशासकीय अधिकृत पदपूर्ति समितिको संयोजक हुनुपर्नेमा लामिछानेले शिक्षा शाखाका प्रमुख रामबहादुर घलानलाई पदपूर्ति समितिको संयोजकको जिम्मेवारी दिएका थिए । परीक्षाको समयमा निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी प्रजिना आएपछि मात्रै परीक्षा सञ्चालन गरिएको थियो ।

प्रजिनाले नियुक्ति लिएपछि भने सुत्केरी विदामा बसेकी थिइन् । नियुक्तिको विषयमा विवाद भएको र पछिल्लो समय अनुसन्धानको विषय समेत बनेपछि प्रजिनाले बिहीबार राजिनामा दिएकी हुन् । प्रजिनाले राजिनामा दिएपछि मकवानपुरगढी गाउँपालिकाले वैकल्पिक उम्मेद्वारलाई नियुक्ति बुझ्नका लागि सम्पर्क गर्न भन्दै गत बिहीबार सामाजिक सञ्जालमा सूचना जारी गरेको छ । कार्यालय प्रमुखकी श्रीमति भएकै कारण २८ दिनको सुत्केरीलाई ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ, घर टोलमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ का लागि छनोट गरिएको भन्दै आलोचना भएको थियो ।

मातृ–शिशु स्वास्थ्यका दृष्टिले कार्यरत कर्मचारीको हकमा सुत्केरी भएपछि ९८ दिन तलबी बिदाको सुविधा रहन्छ भने कर्मचारीले थप ६ महिना बेतलबी बिदा समेत लिन पाउँछन् । यस्तो कानूनी व्यवस्था हुँदा हुँदै छोटो अवधिको करार सेवामा सुत्केरीलाई सफल उम्मेदवार बनाउनुमा कर्मचारीको स्वार्थ रहेको भन्दै आलोचना भएको थियो । पालिकाको स्वास्थ्य शाखाले २८ दिनको सुत्केरीलाई नियुक्ति दिएर काममा लगाउने बताए पनि प्रजिना भने विदा सुविधामा रहेकी थिइन् ।

Exit mobile version