हेटौँडा : बकैया गाउँपालिकास्थित एक बालुवा प्रशोधन प्लान्टलाई गाउँपालिकाले बन्द घोषणा गरेकोमा नियमित चलेको पाइएको छ । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले शुक्रबार गरेको फास्ट ट्रयाक अनुगमनको क्रममा मकवानपुरको बकैया गाउँपालिका–५ स्थित सुहाना एण्ड पारुसी कन्सट्रक्सन (बालुवा प्रशोधन उद्योग) चालु आर्थिक वर्षको सुरुबाट नै बन्द गरिएको गाउँपालिकाले जनाएको भए पनि नियमित सञ्चालन भएको भेटिएको हो ।
बकैया गाँउपालिका कार्यालयले जिल्ला समन्वय समितिमा सो बालुवा प्रशोधन प्लान्ट फास्ट ट्रयाकको अधिकार क्षेत्रभित्र परेकाले सार्नका लागि यस आर्थिक वर्षमा बन्द अवस्थामा रहेको जानकारी पठाइएको भए पनि गत शुक्रबार अनुगमनको क्रममा चालु अवस्थामा पाइएको छ । नेपाली सेना, रक्षा मन्त्रालय, वन मन्त्रालय, योजना आयोग, अर्थ मन्त्रालयका प्रतिनिधिहरु तथा ललितपुर र मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले फास्ट ट्रयाक अनुगमनको क्रममा सो बालुवा प्लान्ट नियमित चलेको पाइएको थियो ।
चालु अवस्थाको उद्योग तत्काल बन्द गर्न प्रशासनले मौखिक निर्देशन दिएको छ । यसका साथै बन्द भनिएको अवधिमा उत्पादित सामग्रीको राजश्व तिरेरमात्र स्थानान्तरण गर्नका लागि अनुगमन टोलीले मौखिक निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो । जिल्ला समन्वय समितिले गिट्टी–बालुवा तथा क्रसरहरुलाई अनुगमन गर्दै आएकोमा यस वर्ष जेनजी आन्दोलनका कारण अनुगमन गर्न नसकेको समितिका सूचना अधिकरी इन्दिरा पौडेलले बताउनुभएको छ । सो उद्योगलाई राजश्व तिर्न निर्देशन दिँदै पत्राचार गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।
जिल्ला समन्वय समितिमा प्राप्त भएको जिल्लाका विभिन्न पालिकामा सञ्चालनमा रहेका क्रसर तथा गिट्टी बालुवा उद्योगहरुको सूचीमा सो उद्योग समावेश थिएन । यस कम्पनीका सञ्चालक लीलाराज सापकोटा (सन्तोष) ले हाल उद्योग आफूले सञ्चालन गरेको नभई तामाङ एग्रीगेटको नामबाट सञ्चालन भएको बताउनुभएको छ । उहाँले स्थानान्तरण गर्न खर्च लाग्ने भएकोले तत्काल नहटेको र अब उत्पादित सामग्रीसहित त्यहाँबाट सर्ने बताउनुभएको छ ।
गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले सो उद्योग खुला रहेको स्वीकार्नुभएको छ । उहाँले अब प्रशासनको आदेशअनुसार नै हुने बताउनुभयो ।











