हेटौँडा : आज शनिबारबाट हिन्दू धर्मावलम्बीहरुको श्री स्वस्थानी व्रतकथा सुरु भएको छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ ।
यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्ययुगमा भगवान विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।
विशेषगरी महिलाहरूमात्र व्रतालु हुने स्वस्थानी व्रत बस्नाले व्रतकथामा वर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्मग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागतरुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।
व्रतको नियम
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी व्रतको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्दपुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अवधिभर मेला पनि लाग्ने गर्दछ ।
श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएको शाली नदी र श्लेशमान्तक वन नेपालको काठमाडौंमा छन् । यो व्रतकथामा उल्लेखित विषयवस्तु र घटना पनि नेपालकै सेरोफेरोमा घटेको थियो भनी स्कन्दपुराणमा उल्लेख छ ।
पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीको दिनदेखि नै दुबै हात–खुट्टाका नङ्हरू काटी, पवित्र भएर हविष्य (दुध, दहि, जौं, गौं, चामल, तिल, घ्यू, सख्खर इत्यादि सात्विक पदार्थहरू) भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँको सरसफाई लिपपोत गर्नु पर्दछ । व्रत गर्नेले त्यसै दिनदेखि व्रत नसकिँदासम्म पलङ र खाट पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ । एक छाकमात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ ।
व्रत नसकिँदासम्म व्रतालु पुरुष भए रौं काट्न पनि हुँदैन । व्रत सुरु भएको एक महिनासम्म कसैसँग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु, क्रोध नगर्नु, कसैप्रति दुर्भाव नराख्नु, चोरी नगर्नु, ब्रह्मचर्यको पालन गर्नु, शुद्घ धोएका वस्त्रहरूमात्रै लगाउनु, शौच गएपछि जलको प्रयोगले सफाई गर्नु, सात्विक भावमात्र हृदयमा राख्नु व्रतका अनिवार्य नियमहरू हुन् ।
पूर्णिमाका दिन बिहानै उठी नदीमा (नदी नभए घरैमा) स्नान गरी शुद्घ वस्त्र पहिरिएर पाएसम्म कुशको आसन (नपाएमा ऊन वा कम्मलको आसन)मा बसेर नित्यकर्म गर्नुपर्छ । नित्यकर्मपछि पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगव्य (गोबर, गहुँत, दुध, दही र घ्यू) का साथै तिल, सस्र्यूं र जौ हाली वेदमन्त्रले अभिमन्त्रित गरी सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ ।
एक महिनापछि माघ शुक्ल पूर्णिमाको दिन कथा समाप्त गरी विशेष पूजा गरिन्छ । यसका लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गरेर श्री स्वस्थानी मातासँगै मेरो पनि पूजा गर्नु भनि श्री महादेवबाट आज्ञा भएको छ । यो पूजामा सेलरोटी, सुपारी कुड्का, बेलीको फूल, पान, जनै, अक्षता, आरतीका बत्तीहरू, भेटी, जौ, तिल इत्यादी सबै पदार्थ एक सय ८ वटा चढाउनु पर्दछ । अन्य अप्राप्य फलफूल र नैवेद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजापछि एकसय ८ परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ ।
व्रतपछि अघ्र्य दिई सबै एक सय ८ प्रसादहरू मध्येबाट ८÷८ वटा प्रसाद झिकेर श्रीमान भए श्रीमानलाई, श्रीमान नभए छोरालाई, छोरा पनि नभए मितछोरा दिनुपर्छ । कोही नभए आफ्नो व्रत र मनोकामना पूरा होस् भनेर नदीमा बगाइदिनुपर्छ । बाँकी एक सय वटा रोटीहरु आफूले फलाहार गरी रात्रिमा जाग्राम बस्नु भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेग साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । ‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्दछन् ।
