Home मुख्य समाचार आलोचनापछि मुख्यमन्त्रीको सचिवालयको विज्ञप्ति, ‘बाध्यात्मक परिस्थितिले हेलिकप्टरको यात्रा’

आलोचनापछि मुख्यमन्त्रीको सचिवालयको विज्ञप्ति, ‘बाध्यात्मक परिस्थितिले हेलिकप्टरको यात्रा’

हेटौँडा : पार्टीको वनभोज कार्यक्रममा सहभागी हुन बिहीबार हेलिकप्टर चढेर सिराहा गएको विषयमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको तीव्र आलोचना भएपछि मुख्यमन्त्रीको सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गरेको छ । मुख्यमन्त्री बानियाँका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले एक विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोकको मेलम्ची–९, गुफाडाँडामा आयोजित जलवायु सम्मेलनमा सहभागी भई सिराहामा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सडक मार्गबाट जान असम्भव भई बाध्यात्मक परिस्थितिका कारण निजी खर्चमा मुख्यमन्त्रीले यात्रा गर्नुभएको उल्लेख गरिएको छ ।

मुख्यमन्त्रीले निजी खर्चमा यात्रा गर्नुभएको भनिए पनि निजी खर्चमा यात्रा गरिएको भन्ने पुष्टि गर्ने आधारहरु केही पनि प्रस्तुत गरिएको छैन । मुख्यमन्त्रीले वनभोज जस्तो सामान्य कार्यक्रममा सहभागी हुन हेलिकप्टर प्रयोग गर्नुभएको विषयमा मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिवले खर्चको विषयलाई मात्रै स्पष्ट पार्न खोजेका छन् । वनभोज कार्यक्रममा मुख्यमन्त्री बानियाँ हेलिकप्टर चढेर जानुभएको विषयलाई आर्थिक अनियमितताका दृष्टिकोणले मात्रै नभई अस्वभाविक कामको रुपमा बुझेर आलोचना भइरहेको छ । कुनै विशेष महत्वको कार्यक्रम नभई वनभोज कार्यक्रममा सहभागी हुन हेलिकप्टर प्रयोग गर्नुलाई सदाचारका दृष्टिकोणले स्वभाविक नदेखिने भन्दै आलोचना भएको हो ।

मुख्यमन्त्री बानियाँले आफ्नो सचिवालयको खर्च समेत कटौति गर्नुभएको दावी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘उहाँले आफ्नो सरकारी निवासको खर्चदेखि आफूले चढ्ने सवारीको इन्धन समेत निजी खर्चमा गर्दै आउनुभएको छ । उहाँको सचिवालयले हालसम्म भ्रमण भत्ता समेत नलिई काम गरिरहेको छ ।’ तर, बानियाँ मुख्यमन्त्री नियुक्त हुनुभएदेखि उहाँले निजी खर्चमा क्रियाशील भइरहनुभएको भन्ने स्पष्ट हुने कुनै आधार प्रस्तुत हुन सकेको छैन । मुख्यमन्त्री बानियाँले सरकारी सुविधा नलिएको विषयमा औपचारिक रुपमा उहाँको कार्यालयले कुनै जानकारी गराएको छैन ।

मुख्यमन्त्रीको सचिवालयले मकवानपुरको मनहरी र कैलाश गाउँपालिकामा २ जना विपन्न परिवारलाई आफ्नो सुविधा वापत प्राप्त हुने रकमबाट घर निर्माण गरिदिएको उल्लेख गर्दै प्रमुख स्वकीय सचिवले मुख्यमन्त्रीले गरेका सकारात्मक कार्यलाई ओझेलमा पार्न सकिन्छ कि भनेर केही व्यक्ति र समूह निरन्तर सक्रिय रहेको जानकारी गराएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमको दुरुपयोग भएको गम्भीर आरोप समेत लगाइएको छ । चरित्र हत्या गर्न उद्दत व्यक्ति र समूहले मुख्यमन्त्री बानियाँले हेलिकप्टर प्रयोग गर्नुभएको विषयमा भ्रम फैलाएको आरोप स्वकीय सचिवको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमार्फत प्रमुख स्वकीय सचिवले मुख्यमन्त्रीको आलोचना गर्नुलाई साइवर अपराधको रुपमा पनि अपव्याख्या गर्न खोजिएको छ । सञ्चार माध्यमलाई पनि सत्य तथ्य जाँच गरेर मात्रै समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवले मुख्यमन्त्रीको बचाउ गर्नेहरुलाई धन्यवाद समेत दिएका छन् । पालिका प्रमुख, उपप्रमुखदेखि प्रदेशका मन्त्री, मुख्यमन्त्रीले सरकारी सेवा, सुविधा नलिने बताइरहे पनि त्यसलाई सार्वजनिकरुपमा पुष्टि हुने गरी कुनै तथ्य, प्रमाण भने प्रस्तुत गर्ने गरिएको छैन । जनप्रतिनिधिहरुको सवारी साधन, हवाई यात्रा, वैदेशिक यात्राको मोह निरन्तर आलोचनाको विषय भइरहे पनि जनप्रतिनिधिहरुले सर्वसाधारणको जिज्ञासाको उचित जवाफ प्रस्तुत गर्न आवश्यक ठारिहेको देखिन्न भने अर्कोतर्फ आलोचनाका बीच सवारी साधन, हवाई यात्रा र वैदेशिक यात्रालाई कायमै राखेका छन् ।

Exit mobile version