हेटौँडा : मदन भण्डारी फाउन्डेसन मकवानपुरले प्रकाशन गरेको ‘जबजका आयाम’ पुस्तक शुक्रबार हेटौँडामा लोकार्पण गरिएको छ । कम्युनिस्ट नेता मदन भण्डारीको विचार, दर्शन र बहसलाई विभिन्न व्यक्तिहरुको लेख तथा रचनाद्वारा समेटिएको पुस्तक ‘जबजका आयाम’लाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा लोकार्पण गरिएको हो ।
पुस्तक प्रा.डा. शंकरप्रसाद उपाध्याय, डा. घनश्याम घिमिरे र बोलबहादुर कार्कीले सम्पादन गर्नुभएको हो भने पुस्तकमा मकवानपुरको कम्युनिस्ट आन्दोलन, विचारमूलक लेख, शैक्षिक, औद्योगिक र सामाजिक क्षेत्रसँग सम्बन्धित लेखहरूका साथै अन्तरवार्ता तथा फाउन्डेसनले आयोजना गरेको कविता प्रतियोगिताका उत्कृष्ट कविता समावेश गरिएको छ । पुस्तकबारे मकवानपुरका साहित्यकारहरु रमेशमोहन अधिकारी र मनोज पोखरेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । समीक्षकहरूले जबजलाई एउटा पार्टीको दस्तावेजका रूपमा मात्र नभई समाज, साहित्य, कला, संस्कृति, शिक्षा, अर्थतन्त्र र सामाजिक रूपान्तरणको अभ्यासका रूपमा बुझ्नुपर्नेमा जोड दिएका थिए । नेपाली राजनीतिको क्षेत्रमा उच्च पहिचान बनाउनुभएका मदन भण्डारीको जीवन, विचार, जीवनशैली र उतार–चढावबारे जान्न इच्छुक पाठकका लागि पुस्तक उपयोगी रहेको उनीहरूको भनाइ थियो । पुस्तकमा समेटिएका लेखहरूले नेपाली कम्युनिस्ट आन्दोलन र जबजको मार्गचित्र कोर्ने प्रयास गरेको समीक्षकहरूले बताएका छन् ।
लोकतान्त्रिक विधि र प्रतिस्पर्धा, साँस्कृतिक, आर्थिक र सामाजिक पक्षलगायत जनताको बहुदलीय जनवादका विभिन्न आयामलाई पुस्तकमा प्रस्तुत गरिएको भन्दै समीक्षकहरुले पुस्तकलाई वैचारिक, सन्दर्भिक र सृजनात्मक गरी तीन आयाममा समेटिएको जानकारी दिनुभयो । कार्यक्रममा जबजमाथि आलोचनात्मक लेखहरू पनि समावेश गर्नुपर्ने र विद्यार्थी तथा कलेजका पुस्तकालयसम्म पनि पुस्तक पु¥याउनुपर्ने सुझाव दिइएको थियो । पुस्तकमा भएका भाषिक त्रुटिहरुलाई भने सच्याउन सुझाव दिइएको छ ।
कार्यक्रममा प्रदेशका प्रथम मुख्यमन्त्री पौडेलले जनताको बहुदलीय जनवाद (जबज) मदन भण्डारीको विचार र व्यक्तित्वलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न पुस्तक प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुनै पनि सिद्धान्त नभएका नयाँ पुस्तालाई जबजको नीति, मूल्य र मान्यता बुझाउन आवश्यक रहेकोमा जोड दिनुभयो । मदन भण्डारीलाई कुनै एक दलको मात्र नभई सबैका नेताको रुपमा चित्रण गर्दै उहाँले प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्न सकिने मूल मर्म नै जबजको आधार भएको बताउनुभयो । हाल सबै राजनीतिक दलहरूले जबजको मूल भावना स्वीकार गरिसकेको उहाँको भनाइ रहेको थियो ।
मदन भण्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको सभाअध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा पूर्वसदस्य केदार न्यौपाने, रामचन्द्र राई, संविधानसभा सदस्य दिलबहादुर घिसिङ, नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बल लगायतको आतिथ्य रहेको थियो ।











