हेटौँडा : बागमती प्रदेशको दुई जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना पैदल यात्रीको मृत्यु भएको छ । बुधबार प्रदेशको सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान ७ बजेर ३० मिनेटको समयमा काठमाडौंबाट कटारीतर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ गिजिह्यानीका ६५ वर्षीय मोहन धामी गम्भीर घाइते भएका थिए । उनलाई कमलाखोच अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि नगर अस्पताल सिर्थौली लगिएको थियो । बिहान ८ बजेर २० मिनेटकोे समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । पिकअप चालक झापा जिल्लाको शिवसतासी नगरपालिका–७ निवासी २९ वर्षीय अभिषेक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–१, बोक्से खोलामा ट्रकको ठक्करबाट घाईते भएका पैदल यात्री उपचारको क्रममा मृत्यु भएको छ । गत मंसिर २८ गते दिउँसो ३ बजेर १५ मिनेटको समयमा तेम्बाथान सड्क खण्डमा, तेम्बाथानबाट बलेफीतर्फ जाँदै गरेको ना ७ ख २०४१ नंम्बरको खाली टेलर ट्रकले ठक्कर दिँदा पैदल बलेफी गाउँपालिका–१, टाडीका ८५ वर्षीय अष्ठ बहादुर श्रेष्ठ गम्भिर घाइते भएको बागमती प्रहरीले जानकारी दिएको छ । घाइते श्रेष्ठको साङबोटे स्वास्थ केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा बुधबार राती ११ बजेर ३० मिनेटको समयमा डाक्टरले घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक ईन्द्रावती गाउँपालिका–१२ का २७ वर्षीय सौगात राईलाई प्रहरीले नियन्त्रणमा लगिएको छ ।