हेटौँडा : नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको १४औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा रामकुमार थापा मगर निर्वाचित हुनुभएको छ । हेटौँडा–१२ स्थित प्रथम सहिद क्याप्टेन लखन थापा मगर स्मृति वाटिकामा मंगलबार भएको अधिवेशनबाट रामकुमारको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
वागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी मगरको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष सन्देश तुम्सिङ्ग मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा सर्वसम्मत रुपमा २१ सदस्यीय समिति चयन गरेको हो । अधिवेशनबाट महिला उपाध्यक्षमा उर्मिला राना मगर, उपाध्यक्षमा डेमिज थापा मगर, एक बहादुर आलेमगर, सचिवमा भुपेन्द्र राना मगर, सहसचिवमा सुष्मा थापा मगर, रञ्जित थापामगर र राजाराम थापा मगर र कोषाध्यक्षमा अञ्जु तुम्सिङ्ग मगर चयन हुनुभएको छ ।
संघको केन्द्रीय सल्लाहकारहरु विश्व कुमार आलेमगर, कुश बहादुर थापा मगर, केन्द्रीय सदस्य अमृता थापामगर, संघको बागमती प्रदेश उपाध्यक्ष खेमराज जर्गा मगर, प्रशासन सचिव रामकुमार थापा मगर, निवर्तमान केन्द्रीय सदस्य अशोक सारुमगर, संघका पूर्वअध्यक्षहरुको उपस्थित रहेको थियो । २०३९ सालमा स्थापना भएको संघले मकवानपुरका सम्पूर्ण मगरहरु एकजुट भई आफ्नो भाषा, धर्म, भेषभुषा, संस्कृति जगेर्ना गर्दै विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ । हेटौँडा–८, कमानेमा संघको आफ्नै भवन निर्माणाधिन छ ।
