Home मुख्य समाचार रास्वपाको समानुपातिक सूचीमा बागमतीका मकवानपुरसहित ७ जिल्लामा ‘शून्य’

रास्वपाको समानुपातिक सूचीमा बागमतीका मकवानपुरसहित ७ जिल्लामा ‘शून्य’

हेटौँडा : आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका १३ जिल्लामध्ये ६ जिल्लाबाट उम्मेदवार समेटेर समानुपातिक सूचि बुझाएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार पुस १३ र १४ गतेसम्मको समानुपातिक सूचि बुझाउने समयमा रास्वपाले बागमतीको १३ जिल्ला मध्ये ६ जिल्लाबाट उम्मेदवार लिएको छ ।

सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङको एकता पछि आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्द सूचीमा बागमतीका ६ जिल्ला समेटिँदा मकवानपुरसहित ७ जिल्लाबाट भने कुनैपनि उम्मेदवार परेनन् । रास्वपाको समानुपातिक तर्फको बन्द सूचि अनुसार प्रदेशको भौगोलिक सन्तुलन नमिल्दा चितवनको मात्रै दबदबा देखिन्छ ।

सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र समेत रहेको चितवनबाट सबैभन्दा बढी उम्मेदवार ल्याइएको छ भने त्यसपछि काठमाडौंका उम्मेदवार रहेका छन् । रास्वपाको सूचीमा केवल ६ जिल्लाका उम्मेदवारहरु समेटिँदा ७ वटा जिल्लाबाट कुनैपनि क्लस्टरमा उम्मेदवार शुन्य रहेको छ ।
रास्वपाले बागमतीका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सिन्धुपाल्चोक र नुवाकोटबाट समानुपातिकतर्फ उम्मेदवार पठाएको छ । प्रदेशको मकवानपुरसहित काभ्रे, धादिङ, रामेछाप, दोलखा, रसुवा र सिन्धुलीबाट समानुपातिकतर्फ कोही पनि उम्मेदवार परेका छैनन् ।

रास्वपाको समानुपातिक सूचीमा चितवनबाट मात्रै १९ जना उम्मेदवारहरु बन्द सूचीमा परेका छन् । जसमा आदिवासी जनजाति र खस आर्य समूहको बाहुल्यता छ । चितवनपछि काठमाडौं जिल्लाबाट ५ जना, ललितपुरबाट ४ जना र भक्तपुरबाट ३ जना उम्मेदवार सूचीमा छन् । सिन्धुपाल्चोकबाट २ जना र नुवाकोटबाट १ जना उम्मेदवारलाई रास्वपाले समानुपातिक सूचीमा समेटेको छ ।

कुन जिल्लाबाट को–को छन् ?
जिल्लागत रुपमा खुम्चिएको देखिएको रास्वपाको समावेशीता अनुसारको क्लस्टरमा भने केही विविधता देखिन्छ । सूचीमा खस आर्य र आदिवासी जनजातिको संख्या बढी देखिन्छ ।

रास्वपाले काठमाडौंकी जुली यादवलाई मधेशी कोटाबाट र भक्तपुरका साजन वि.के. लाई दलित कोटाबाट समानुपातिक उम्मेदवारमा समेटिएको छ । चितवनबाट डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा, सुदेश गुरुङ, सचिन ढकाल, सुदिप ढकाल, अनुप कुमार उपाध्याय, गोविन्द नारायण, दुर्गा बहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुषाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने र प्रभा ढकाललाई समानुपातिक उम्मेदवारको रुपमा सूचिमा समावेश गरिएको छ ।

काठमाडौंबाट कुसुम महर्जन, टेक बहादुर पोखरेल (प्रभु राम), लिमा अधिकारी (आचार्य), समीक्षा बास्कोटा र जुली यादव उम्मेदवार रहेका छन् भने ललितपुरबाट खुश्बु सरकार श्रेष्ठ, सुम्निमा उदास, अरनिको कुमार पाण्डे र डा. निना रेग्मी पोखरेल उम्मेदवार रहेका छन् । भक्तपुरबाट प्रमिला कुलुजु, माया डोल्मा लामा र साजन वि.के., सिन्धुपाल्चोकबाट सुनिता नेम्हाफुकी र प्रमोद न्यौपाने उम्मेदवार रहेका छन् नुवाकोटबाट प्रभा कार्की समानुपातिक तर्फको उम्मेदवारको रुपमा बन्द सूचिमा रहेका छन् ।

Exit mobile version