Home मुख्य समाचार फर्किँदै गरेको हाँसो, बिउँझँदै गरेको जिम्मेवारी

फर्किँदै गरेको हाँसो, बिउँझँदै गरेको जिम्मेवारी

हरेक मानिसहरुले जीवनमा विभिन्न भूमिकाहरु निभाउँछन् : छोरा, दाजु, साथी, नागरिक तर ती सबै भूमिका मध्ये बाबु हुनु सबैभन्दा गहिरो र जिम्मेवार भूमिका हो । बाबु हुनु भनेको केवल सन्तान जन्मिनु मात्र होइन त्यो सन्तानसँगै एउटा नयाँ आत्मा जन्मिनु पनि हो । जसले आफ्नो हाँसो, पीडा, सपना र डर सबै सन्तानसँग बाँधिदिन्छ । सन्तान जन्मेको दिनदेखि बाबुको जीवन दुई भागमा बाँडिन्छ; एक भाग उसले जिउने जीवन हो भने अर्को भाग उसले सन्तानका लागि जिउने जीवन ।

सन्तानको सानो चोटले बाबुको छातीमा ठूलो घाउ बनाउँछ । सन्तानको आँसु बाबुको आँखामा नदेखिए पनि मुटुमा बगिरहेको हुन्छ तर बाबुहरू प्रायः आफ्ना पीडा लुकाउँछन् किनकि समाजले बाबुलाई बलियो देख्न चाहन्छ । रोएन भने मात्र बाबु, डराएन भने मात्र बाबु, थाके पनि नथाकेजस्तो देखिए भने मात्र बाबु । यस्तै गलत मान्यताबीच बाबुहरू आफ्नै भावनालाई थिचेर बाँचिरहेका हुन्छन् ।

केही समयअघिसम्म मेरो जीवन पनि यही मौन संघर्षमा थियो । मेरो छोरो अहिले अस्पतालको बेडमा पल्टिएको छ । ऊ जीवन बुझ्न थालेको उमेरमा थियो तर जीवनसँगै लड्नुपरेको छ । सानो शरीरमा ठूला ठूला सुईहरू, अनुहारमा थकान, आँखामा डर र ओठमा बोल्न नसक्ने प्रश्नहरू । त्यो दृश्य हेर्दा बाबु हुनुको अर्थ सबैभन्दा कठोर रूपमा महसुस भयो ।

अस्पतालको त्यो कोठा मेरा लागि केवल उपचारको ठाउँ थिएन त्यो आत्ममन्थनको कक्ष थियो । त्यहाँ बसेर मैले धेरै कुरा सम्झिएँ । छोराको पहिलो पाइला, पहिलो बोली, पहिलो हाँसो अनि आफूलाई सोधेँ, के मैले पर्याप्त समय दिन सकेँ ? के मैले उसको आँखामा संसार सुरक्षित छ भन्ने विश्वास भरिदिएको थिएँ ?

केही दिन त्यस्तो पनि आयो जब उसको सास गन्ने आवाजले मेरो रात काट्थ्यो । घडीका सुईहरू अघि बढ्थे तर समय रोकिएको जस्तो लाग्थ्यो । त्यो मौनतामा केवल मेसिनको आवाज र बाबुको डर मिसिएको हुन्थ्यो । त्यतिबेला न पैसा काम लाग्यो न चिनजान न हैसियत । काम लाग्यो त केवल प्रार्थना, आशा र बाबुको मौन आँसु ।

तर, जीवन सधैँ अन्धकार मात्र हुँदैन । एक बिहान ऊ अलिकति मुस्कुरायो । त्यो मुस्कान कमजोर थियो तर अर्थमा गहिरो । त्यो हाँसो जीवन फर्किँदै गरेको सङ्केत थियो । त्यसपछि उसले अलिकति खेल्न खोज्यो, हात हल्लाएर, आँखाले खेलौना खोजेर । उसले थोरैथोरै खाना खान पनि थाल्यो । संसारका लागि सानो सुधार होला तर मेरो जीवनका लागि त्यो पुनर्जन्म थियो ।

त्यो हाँसोसँगै मेरो मनमा पनि नयाँ सङ्कल्प जन्मियो । सन्तान बाँच्नु मात्र पर्याप्त छैन, ऊ कस्तो नागरिक बन्छ भन्ने कुरा अझै महत्वपूर्ण छ । आज ऊ रोगसँग लड्दै छ, भोलि ऊ समाजसँग लड्नेछ; सही र गलत छुट्याउन, लोभ र जिम्मेवारीबीच सन्तुलन राख्न, स्वतन्त्रता र अनुशासनको अर्थ बुझ्न । त्यो लडाइँका लागि उसलाई तयार पार्ने जिम्मेवारी बाबुको काँधमा हुन्छ ।

आज हाम्रो समाजमा धेरै सन्तानहरू गलत बाटोमा फसेका छन् । उनीहरू जन्मिँदा खराब थिएनन्, हुर्किँदा बेवास्ताका सिकार बने । बाबुले माया त दिए तर समय दिएनन् । खर्च त दिए तर संवाद दिएनन् । भविष्य बनाउने नाममा वर्तमान गुमाइयो । अनि एक दिन बाबुले देखे छोरा हातबाट फुत्किसकेको छ ।

अस्पतालको बेडले मलाई यो कठोर सत्य सिकायो । सन्तानलाई सही बाटो सिकाउन ढिला गर्न मिल्दैन । चरित्र निर्माण बाल्यकालमै हुन्छ । बाबुको बोलीभन्दा उसको व्यवहारले सन्तानलाई गहिरो शिक्षा दिन्छ । बाबु इमानदार छ भने छोरोले पनि सत्यको मुल्य बुझ्छ । बाबु संवेदनशील छ भने छोरो पनि अरूको पीडा महसुस गर्न सिक्छ ।

आज मेरो छोरो अझै पूर्ण रूपमा ठीक भएको त छैन तर उसले हाँस्न थालेको छ । त्यो हाँसोले मलाई सम्झाउँछ; जीवनले दोस्रो मौका दिएको छ । अब यो मौका गुमाउन हुँदैन । अब बाबु भएर केवल कमाउने होइन, समय दिनुपर्छ । आदेश दिने होइन, संवाद गर्नुपर्छ । डर देखाउने होइन, भरोसा दिनुपर्छ ।

यो लेख केवल मेरो पीडाको कथा मात्र होइन । यो हरेक बाबुको आत्मालाई सोधिएको प्रश्न हो; के हामी आफ्ना सन्तानका लागि साँच्चै उपस्थित छौँ ? कि केवल जिम्मेवारी टार्दै भविष्यको बहानामा बाँचिरहेका छौँ ?

अस्पतालका रातहरू फरक हुन्छन् । त्यहाँ रात अँध्यारो मात्र हुँदैन, भारी पनि हुन्छ । ऊ सुतिरहेको जस्तो देखिन्थ्यो तर म जान्दथेँ उसको सानो शरीरभित्र युद्ध चलिरहेको छ । म बोल्न चाहन्थेँ तर शब्दहरू डराएर घाँटीमै अड्किन्थे । त्यसैले मैले मौनमै कुरा गरेँ । “छोरा, डर नमान् । बाबा यहीँ छु ।” त्यो वाक्य मैले कति पटक मनमनै दोहोराएँ, मलाई नै थाहा छैन ।

त्यही मौन संवादले मलाई सिकायो कि सन्तानसँग बोल्न शब्द मात्र होइन, भौतिक शरीर नै उपस्थित हुनुपर्छ । बाबुको उपस्थितिले नै धेरै पीडा हलुका हुन्छ । सबै सुतिरहेका जस्ता देखिन्छन् तर वास्तवमा कोही पनि सुतिरहेका हुँदैनन् । कोही पीडाले व्युँझिएका हुन्छन् भने कोही डरले, कोही आशाले । म पनि त्यही रातहरूमा जाग्राम बसेँ छोराको बेडछेउ, उसको साससँगै आफ्नो मनको धड्कन गन्दै ।

आजको समाजमा बाबुहरू अत्यन्त व्यस्त छन् । कोही रोजगारीको नाममा टाढा छन्, कोही जिम्मेवारीको नाममा घरमै भएर पनि टाढा छन् । हामी भन्छौँ सबै सन्तानका लागि गर्दैछौँ तर सन्तानले त्यो “सबै” बुझ्दैनन् । उसले बुझ्छ मात्र बाबु सँगै छन् कि छैनन् ।

मेरो छोरो बिरामी परेपछि मैले पहिलोपटक महसुस गरेँ कि धेरै कुरा पछि सार्दै आएको रहेछु भनेर । ‘पछि खेलाउँला’, ‘पछि घुमाउँला’, ‘पछि समय दिउँला’ भन्ने पछि नै आजको यो कठोर पाठ लुकेको रहेछ । जब सन्तान बोल्न खोज्दा बाबु सुन्दैनन्, जब रुँदा बाबु व्यस्त हुन्छन् तब बाहिरको संसारले उसलाई सुन्न थाल्छ । अनि त्यो संसार सधैँ सही हुँदैन ।

आज मेरो छोरो रोगसँग लड्दैछ । भोलि ऊ समाजसँग जुध्नेछ, अन्यायसँग, लोभसँग, गलत संस्कारसँग । त्यो लडाइँ जित्न उसलाई हतियार चाहिँदैन मूल्य चाहिन्छ । इमानदारी, करुणा, अनुशासन र जिम्मेवारी यी मूल्यहरू बाबुको व्यवहारबाट सन्तानको मनमा बस्छन् ।

म चाहन्छु; ऊ ठूलो भएर शक्तिशाली मात्र होइन, संवेदनशील नागरिक बनोस् । नियम पालना डरले होइन, जिम्मेवारीले गरोस् ।

मेरो छोराको फर्किँदै गरेको हाँसोले मलाई दोस्रो मौका दिएको छ । अब म बाबु भएर केवल सपना देख्ने होइन, उदाहरण बन्नेछु । अब म उसलाई सही गलत सिकाउन भाषण दिने छैन, जीवन देखाउनेछु । यो त एउटा सङ्कल्प हो, हरेक सचेत बाबुका लागि । आज हामी सचेत भयौँ भने भोलि अस्पतालका बेडहरू कम हुनेछन् ।

म कहिलेकाहीँ छोराको अनुहार नियालेर हेर्छु । उसले केही नबोले पनि उसका आँखाले धेरै कुरा भनिरहेका हुन्छन् । कहिले ती आँखामा डर हुन्छ, कहिले जिज्ञासा, कहिले आशा । ती आँखाले मलाई सोधिरहेका जस्ता लाग्छन, “बाबा, यो संसार सुरक्षित छ ?” म भित्रैदेखि उत्तर खोज्न थाल्छु । के म उसलाई सुरक्षित संसार दिन सक्ने बाबु बन्न सकेको छु त ?

सन्तान हुर्काउनु भनेको केवल खान लगाउनु, लगाइदिनु, पढाउनु मात्र होइन । त्यो त हरेक दिन उसको मनभित्र एउटा अदृश्य आधार निर्माण गर्नु पनि हो । त्यो आधार भरोसाको हुन्छ, संवादको हुन्छ र उदाहरणको हुन्छ । सन्तानले बाबुलाई हेरेर सिक्छ ; समस्या आएपछि भाग्ने कि सामना गर्ने, कमजोरलाई हेला गर्ने कि सहारा दिने, आफू मात्र सोच्ने कि समाज सम्झने ।

अस्पतालको ती दिनहरूमा मैले धेरै बाबुआमाहरू देखेँ । कोही चुपचाप छेउमा बसेका थिए, कोही आँसु लुकाएर फोनमा व्यस्त थिए, कोही प्रार्थनामा । सबैको कथा फरक थियो तर पीडा एउटै । त्यहाँ कुनै जात थिएन न त कुनै हैसियत केवल अभिभावक थिए, आफ्ना सन्तान बचाउन आतुर । त्यहीँ मलाई महसुस भयो, सन्तानको पीडाले सबैलाई बराबर बनाउँछ ।

मलाई लाग्छ, यदि हरेक बाबुले अस्पतालको एउटा रात अनिवार्य रूपमा बिताउन पाएको भए, समाज सायद अलि फरक हुन्थ्यो । त्यहाँ सिकाइने पाठ कुनै विश्वविद्यालयले दिन सक्दैन । त्यहाँ जीवनको मूल्य, समयको अर्थ र सम्बन्धको गहिराइ स्पष्ट देखिन्छ ।

आज मेरो छोरो अलिकति दौडिन खोज्छ, अलिकति हाँस्छ, कहिले झर्किन्छ पनि । ती झर्काइहरू पनि अब मलाई प्रिय लाग्छन्, किनकि ती जीवनका सङकेत हुन् । म उसलाई हेरिरहँदा सोच्दछु, यी क्षणहरू फेरि कहिल्यै नफर्किन सक्छन् । त्यसैले अब म “पछि” भन्ने शब्दसँग डराउन थालेको छु ।

समाजले बाबुलाई प्रायः कमाउने मेसिनको रूपमा हेर्छ । बाबुले पनि कहिलेकाहीँ त्यही भूमिका स्वीकार्छ तर सन्तानका लागि बाबु पहिलो गुरु हो, पहिलो नायक हो । यदि त्यो नायक नै अनुपस्थित भयो भने, सन्तानले बाहिर गलत नायक खोज्न थाल्छ । त्यहीँबाट भ्रामक बाटाहरू सुरु हुन्छन् ।

कुलतमा फसेका धेरै युवाहरूको कथामा एउटै वाक्य दोहोरिन्छ “घरमा कुरा गर्ने कोही थिएन ।” त्यो वाक्य कुनै आरोप होइन, त्यो एउटा खालीपनको बयान हो । बाबु घरमा थिए तर उपलब्ध थिएनन् । त्यो अनुपस्थितिले सन्तानलाई विस्तारै टाढा लैजान्छ ।

आज म आफ्नो छोरालाई हेरेर मनमनै वाचा गर्छु कि म उसलाई समय दिनेछु, सुन्नेछु र बुझ्नेछु । म पूर्ण बाबु नहुन सकुँला तर उपस्थित बाबु अवश्य बन्नेछु । उसले गल्ती गर्दा म डाँट्ने मात्र होइन, कारण बुझ्नेछु । उसले प्रश्न गर्दा म झर्किने होइन, संवाद गर्नेछु ।

म चाहन्छु, ऊ भोलि ठूलो भएर केवल सफल होइन, सही बनोस् । ऊ अरूलाई जित्ने होइन, आफूलाई जित्न सिकोस् । ऊ अधिकार खोज्ने मात्र होइन, कर्तव्य बुझ्ने नागरिक बनोस् । यो सबै शिक्षा पाठ्यक्रममा लेखिँदैन, यो त घरभित्रको वातावरणबाट सर्ने कुरा हो ।

आज जब ऊ थोरैथोरै खाना खान्छ, म त्यो थाललाई केवल खाना होइन, भविष्य जस्तो देख्छु । जब ऊ हाँस्छ, त्यो हाँसोमा म समाजको सम्भावना देख्छु । एउटा स्वस्थ, संवेदनशील र जिम्मेवार पुस्ताको सम्भावना ।

यो लेख लेखिरहँदा म कुनै लेखक होइन, केवल एउटा बाबु हुँ, डराएको, आशावादी र सचेत हुन खोजिरहेको बाबु । यदि यो लेख पढ्दा कसैको आँखामा आँसु आउँछ भने, त्यो आँसु पीडाको होइन, चेतनाको होस् ।

म अन्त्यमा फेरि दोहोर्‍याउन चाहन्छु, सन्तान हाम्रा निजी सम्पत्ति होइनन्, उनीहरू समाजको जिम्मेवारी हुन् । उनीहरूलाई हामीले कस्तो वातावरण दिन्छौँ, त्यही अनुसार भोलिको समाज बन्छ ।

आज मेरो छोरो रोगबाट बिस्तारै उठ्दैछ । म चाहन्छु, ऊ मात्र होइन, हामी सबै बाबुहरू पनि बेवास्ताबाट उठौँ । आजै सचेत बनौँ, आजै समय दिऔँ, आजै संवाद सुरु गरौँ ।

किनकि जीवनले हरेकलाई दोस्रो मौका दिँदैन तर जब दिन्छ, त्यो मौका चिन्न सक्ने आँखा र सम्हाल्ने साहस बाबुमा हुनैपर्छ ।

अन्त्यमा फेरि भन्छु, मेरो छोरो मात्र होइन, संसारका सबै सन्तानहरू स्वस्थ, सुरक्षित र जिम्मेवार नागरिक बनून् ।

किनकि बाबुको चेतनाबाट नै समाजको भविष्य लेखिन्छ । अन्त्यमा, म प्रार्थना गर्छु; मेरो छोरो मात्र होइन, संसारका सबै बिरामी सन्तानहरू चाँडै निको होऊन् । उनीहरूको हाँसोले फेरि घर उज्यालो बनाओस् र हामी बाबुहरू आजबाटै सचेत बनौँ ताकि भोलि सन्तान अस्पतालको बेडमा होइन, जिम्मेवारीको बाटोमा आत्मविश्वासका साथ हिँडिरहेको देख्न सकियोस् ।

किनकि एउटा सानो हाँसोले बाबुको जीवनभरको दिशा बदल्न सक्छ ।

Exit mobile version