हेटौँडा : मकवानपुर प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा अवैध रूपमा खेती गरिएको लागूऔषध गाँजा र अफिम फँडानी गरी नष्ट गरेको छ ।
शुक्रबारदेखि सोमबारसम्म बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौँडा, विपद् व्यवस्थापन गुल्म हेटौँडा तथा मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका वडा नम्बर १, २, ३, ५, ६ र ९ का विभिन्न स्थानहरूमा अवैध रूपमा गरिएको लागूऔषध खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरी टोलीले २१ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा तथा ९ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम गरी ३० बिगाहा क्षेत्रफलको खेती नष्ट गरेको जनाएको छ । लागूऔषध नियन्त्रण तथा अवैध खेती निरुत्साहित गर्ने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले लागूऔषध खेती फँडानी गर्दै आएको थियो ।











