हेटौँडा : गुरुङ समुदायको महान पर्व ‘तमु ल्होसार’ आज मंगलबार हेटौँडामा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ । तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला समिति मकवानपुरले सोमबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको तयारीबारे जानकारी दिएको छ ।
समितिका अध्यक्ष केशवबहादुर गुरुङका अनुसार हेटौँडा–६ वडा कार्यालयले गुरुङ समुदायलाई मठ (गुम्बा) निर्माणका लागि उपलब्ध गराएको जग्गामा भोलि सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा स्थानीय गुरुङ कलाकारहरूको साथै मकवानपुरका सीमान्तकृत चेपाङ समुदायका चर्चित कलाकार रवीन्द्र चेपाङको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । यसबाट संस्कृति प्रचारप्रसार हुने आयोजकले विश्वास व्यक्त गरेको छ ।
यस वर्षको कार्यक्रमका लागि हेटौँडा उपमहानगरपालिकाले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । महोत्सव स्थलमा गुरुङ समुदायका परम्परागत परिकारसहित ५ वटा खाद्यान्न स्टलहरूसमेत राखिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य जङ्गबहादुर तमुको उपस्थिति रहेको थियो । तमुहरुले सूर्य सामलाई आधार मानी हरेक वर्ष पुस १५ गते सूर्य दक्षिणायनबाट उत्तरायण लाग्ने भएकोले सोही दिनलाई नयाँ वर्षको सुरु दिनको रुपमा मनाउने गर्दछन् ।
