Home खेलकुद यु–१४ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको बाँकी खेल हुने

यु–१४ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको बाँकी खेल हुने

हेटौँडा : यु–१४ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको बाँकी खेल आज (मंगलबार) र भोलि (बुधबार) हुँदैछ । जेनजी आन्दोलनले प्रभावित प्रतियोगिताको बाँकी खेल हुन लागेको जिल्ला फुटबल समिति मकवानपुरका महासचिव छवि सुवेदीले जानकारी दिनुभयो ।

विसं २०८१ साल असोज १२ गतेको पहिरोमा परी मृत्यु भएका स्व.अनुपम घलान, साईमन योन्जन, दिवस बानियाँ, विकल रेग्मी, आदित्य बलम्पाकी, प्रियान्स आचार्यको स्मृतिमा गत भदौ १९ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले गर्दा प्रतियोगिता स्थगित भएको थियो । यसअघि ११ वटा खेल भइसकेको र बाँकी ९ वटा खेल हुँदैछ ।

मंगलबार बिहान ७ बजेदेखि बागमती गाउँपालिकाको जनता माध्यमिक विद्यालय र हेटौँडा–७ स्थित तासिर इङ्लिस बोर्डिङ स्कूलबिच हुनेछ । यस्तै, ८ बजेदेखि हेटौँडा–१५ स्थित जनजागृति माध्यमिक विद्यालय र हेटौँडा–१६ स्थित रेडरोज इङ्लिस बोर्डिङ स्कूलबिच खेल हुनेछ । मंगलबार नै बिहान ९ बजेदेखि बागमतीका सूर्य माध्यमिक विद्यालय र हेटौँडा–१० स्थित सोलिडायरिटी इङ्लिस बोर्डिङ स्कूलबिच र १० बजेदेखि हेटौँडा–१५ स्थित गुरु शिष्य पाठशाला र बागमतीको देवकी माध्यमिक विद्यालयबिचको खेल हुँदैछ ।

मंगलबार दिउँसो १ बजे र २ बजेदेखि क्वाटरफाइनलको खेल हुनेछ । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले २५ हजार र उपविजेता टोलीले १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका विजेता टोली मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै पुस २५ गतेबाट नुवाकोटमा हुन लागेको प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने महासचिव सुवेदीले बताउनुभयो ।

Exit mobile version