बद्रि लम्साल मकवानपुरको राजनीतिमा चिरपरिचित नाम हो । २०२४ सालमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ मा जन्मेका लम्साल सरल र सादगी व्यक्तित्वका धनी हुन् । एमालेको विभिन्न तह र जिम्मेवारीमा रहेर कर्तव्यनिष्ठ भूमिका निर्वाह गरेका लम्सालको राजनीतिक यात्रा अत्यन्त्यै कठिन रह्यो । २०३७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै एमालेमा करिब ४५ वर्ष व्यतित गरी लामो समयसम्म काम गरेका लम्सालको संघर्षपूर्ण जीवनको यात्रा, निष्ठाको राजनीतिलाई उनले पूर्णविराम लगाउँदै सक्रिय राजनीतिबाट आफु अलग रहेको घोषणा गरेका छन् ।

केपी ओली पार्टी भित्र शक्तिशाली अध्यक्षको रुपमा महाधिवेशनबाट निर्वाचित भएको बेला जिल्लामा लामो समय दुख गरेको एउटा कार्यकर्ताले राजनीतिबाट आफूलाई अलग राख्नु अर्थपूर्ण छ । जेन जी आन्दोलनको भावना भनेको पुस्तान्तरण पनि हो । अझ केपी, प्रचण्ड, शेरबहादुरहरूले राजनीतिबाट बिश्राम लिनुपर्छ भन्ने नै हो । तर दुर्भाग्य यिनै नेताहरू पुनस्र्थापित हुदै आइसकेका छन् । पार्टी भित्र यिनैको वर्चस्व छ । एमालेमा त केपी ओलिलाई चूनौति दिने सबै पाखा लागे । पार्टी भित्र सुधारका कुरा गर्ने, परिवर्तनका कुरा गर्नेहरू महाधिवेशनबाटै बढारिए । एमाले अन्तरपार्टी अभ्यासमा लोकतन्त्रको स्थान त देखियो तर कार्यकर्तामा विवेक नदेखिएकै हो त ? यो आम प्रश्न जताततै उठिराखेको छ ।

एमाले राजनीतिक दल भन्दा प्रालि जस्तो देखियो । यस्तो पृष्ठभूमिमा देशभरका ईमान्दार मानिसमा एकखालको राजनीति प्रति वितृष्णा जाग्नु अस्वाभाविक होईन । बद्री लम्साल प्रतिनिधि पात्र मात्र हुन् । नेपालको दलगत राजनीतिमा कहिलेकाहीँ लम्सालहरूको राजनीतिमा विदाइहरू हुन्छन्, जसलाई केवल व्यक्तिगत निर्णयका रूपमा मात्र सीमित गर्न मिल्दैन । ती विदाइहरूले पार्टीको चरित्र, संस्कार र भविष्यप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाइदिन्छन् । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बद्री प्रसाद लम्सालले करिब चार दशक लामो सक्रिय राजनीतिक जीवनबाट सार्वजनिक रूपमा विदा लिने घोषणा गर्नु त्यस्तै एउटा घटना हो, जसले एमाले मात्र होइन, समग्र नेपाली राजनीतिलाई ऐना देखाएको छ ।

२०३६ सालको जनआन्दोलनबाट प्रभावित भई २०३७ सालमा अनेरास्ववियुबाट संगठित राजनीतिक जीवन सुरू गरेका बद्री लम्सालको यात्रा साधारण थिएन । विद्यार्थी संगठन, युवा संघ, किसान संगठन, जिल्ला नेतृत्व, पार्टी कमिटीका विभिन्न तह हुँदै जननिर्वाचित प्रतिनिधि र सामाजिक, सामुदायिक संस्थासम्म फैलिएको उनको योगदान लामो र कठिन संघर्षले भरिएको थियो । पञ्चायतकालमा भूमिगत जीवन बिताएको, जेल सजाय भोगेको र २०३७ देखि २०६३ सम्मका सबै प्रमुख आन्दोलनमा अग्रपंक्तिमा उभिएको इतिहास बोकेका नेता आज आएर “अब यस्तो सक्रियताको अर्थ छैन” भन्ने निष्कर्षमा पुग्नु आफैंमा एउटा गम्भीर राजनीतिक संकेत हो ।

एमाले सधैं आफूलाई निष्ठा, इमान्दारी र योगदानको कदर गर्ने पार्टीका रूपमा प्रस्तुत गर्दै आएको छ । कार्यकर्ता तहमा अझै पनि यही विश्वास दोहोरिन्छ “एमालेमा काम गर्नेको मूल्याङ्कन हुन्छ ।” तर बद्री लम्सालको जीवनयात्राले त्यो दावी कति कमजोर छ भन्ने कुरा उजागर गरेको छ । अघिल्लो अधिवेशनमा पार्टी अध्यक्ष पदका लागि उम्मेदवारी दिन खोज्दा प्रक्रियागत रूपमा नै सूचना दबाइएको, निवेदन सार्वजनिक नगरिएको र नेतृत्व चयन पूर्वनिर्धारित ढाँचामा अघि बढाइएको घटनालाई एमालेभित्र आज पनि धेरैले असहज स्मृतिका रूपमा सम्झन्छन् । त्यो क्षणबाटै बद्री लम्साल पार्टीको शक्ति केन्द्रबाट क्रमशः टाढा पारिँदै गए ।

यहाँ प्रश्न पदको होइन, प्रश्न सम्मानको हो । भर्खर कांग्रेसका विश्वप्रकास शर्माले आफ्नो पार्टीको बैठकमा बोल्दै आफू लगातार तीन पटक निर्वाचनमा उम्मेदवार भइसकेकाले यसपटक उम्मेदवार नबनी अन्य साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमै गरेर आएको जानकारी गराए । उनले यसलाई पार्टीभित्र नयाँ नेतृत्व विकास र राजनीतिक संस्कार सुधारको प्रयासको रूपमा व्याख्या गरे । राजनीतिक संस्कारप्रति टिप्पणी गर्दै शर्माले भने, “आफ्नो पावरले भ्याएसम्म उम्मेदवार बन्ने, जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हारे अर्को क्षेत्रमा भए पनि उम्मेदवार बन्नैपर्ने, बाँचुन्जेल क्षेत्र ‘कब्जा’ गर्ने सोच र सासले भ्याएसम्म मन्त्री भइरहने प्रवृत्ति हाम्रो राजनीतिमा छ । यो प्रवृत्ति भत्काउन जरुरी छ ।” शर्माको अभिव्यक्ति र त्यागले राजनीतिलाई सफा र उचाईमा पु¥याउन मद्दत गर्छ नै । तसर्थ राजनीति केवल पद प्राप्तिको साधन होइन, यो योगदानको सामाजिक र नैतिक स्वीकृतिसँग पनि जोडिएको हुन्छ । जब कुनै कार्यकर्तालाई लामो समय एउटै भूमिकामा सीमित राखिन्छ, कामको निष्पक्ष मूल्याङ्कन हुँदैन, नयाँ जिम्मेवारी दिनेभन्दा पुरानो भूमिकालाई पनि अर्थहीन बनाइन्छ, तब त्यस्तो राजनीतिक जीवन क्रमशः बोझ बन्छ । बद्री लम्सालको विदाइ त्यही बोझको परिणाम हो ।

आजको नेपाली राजनीतिमा विचारभन्दा लबी बलियो बन्दै गएको यथार्थ लुकाउन सकिँदैन । पैसा, पहुँच र शक्ति भएका समूहहरू निर्णायक स्थानमा पुगिरहेका छन् । गुटबन्दी गर्न नसक्ने, पदको लोभ नदेखाउने र संगठनभन्दा बाहिर बसेर प्रश्न उठाउने नेताहरू असहज पात्र बन्दै गएका छन् । बद्री लम्साल त्यस्तै नेता थिए जो बिक्न सक्दैनथे, जसले न त पदको सौदा गरे, न त सिद्धान्तसँग सम्झौता । यही कारण उनी क्रमशः पार्टी संरचनाको किनारामा परे ।

उनको विदाइलाई व्यक्तिगत असफलता वा राजनीतिक पराजयका रूपमा व्याख्या गर्नु ठूलो भूल हुनेछ । बरु यो आत्मसम्मान र विवेकको निर्णय हो । अझ महत्वपूर्ण कुरा उनले नयाँ पुस्तालाई अवसर दिनुपर्ने स्पष्ट सन्देश दिएका छन् । नेपाली राजनीतिमा जहाँ नेताहरू उमेरले थाकिसके पनि पदप्रतिको मोह त्याग्न तयार हुँदैनन्, त्यहाँ स्वेच्छिक विदाइ आफैंमा एउटा राजनीतिक संस्कार हो जसको अभाव यहाँ स्पष्ट देखिन्छ ।

अन्तर्राष्ट्रिय राजनीतिक अभ्यासले पनि यही पाठ सिकाउँछ । मलेसियाका महाथिर बिन मोहम्मदलाई आधुनिक मलेसियाको पीता भनिन्थ्यो । उनी मृत्युको अघिसम्म पनि काम गर भन्ने दर्शनमा विश्वास गर्थे । तर ५३ वर्षसम्म प्रभावशाली भूमिकामा रहेका महाथिरको राजनीतिक प्रभाव अन्ततः निर्वाचनमा जमानत जफत हुँदै समाप्त भयो । बेलायतका ऐतिहासिक नेता विन्स्टन चर्चिलले ८० वर्षको उमेरमा पनि आफू सक्षम रहेको दावी गर्थे । तर जब उनले आफ्नै तस्वीरमा आफ्नो वृद्ध र कमजोर अवस्था देखे, तब उनले आत्मबोध गरे अब समय सकिएको छ । त्यसपछि उनले राजनीतिबाट सन्यास लिए र प्रधानमन्त्री पद छोडे । अमेरिकाकी पूर्व सभामुख न्यान्सी पेलोसीले पनि ३५ वर्षको राजनीतिक यात्रापछि “अब नयाँ पुस्तालाई मौका दिनुपर्ने समय आएको छ” भन्दै आगामी चुनाव नलड्ने घोषणा गरिन् ।

यी सबै उदाहरणहरूले एउटा साझा सत्य देखाउँछन् राजनीतिबाट पछि हट्नु कमजोरी होइन, जिम्मेवारी हो । तर नेपालमा यस्तो सुखद् बहिर्गमनको संस्कृति विकास हुन सकेको छैन । यहाँ नेताहरू आफैं हट्न चाहँदैनन्, त्यसैले अन्ततः जनताले नै हटाउनुपर्ने अवस्था बन्दै गएको छ । इतिहासले देखाउँछ जब नेतृत्व आत्मसमीक्षा गर्न असफल हुन्छ, तब परिवर्तन कठोर रूपमा आउँछ ।

मकवानपुर जिल्लामा एमालेभित्र अहिले हिदम लामा, महेश बर्तौला, सुनिल मोक्तानजस्ता युवा नेताहरू उदाउँदै छन् । उनीहरूलाई अवसर दिनु आवश्यक छ । तर त्यो अवसर पुराना नेताहरूलाई अपमान गरेर होइन, सम्मानसाथ दिनुपर्छ । पुस्तान्तरण भनेको पुस्ताबीचको युद्ध होइन, यो विचार र अनुभवको उत्तराधिकार हो । बद्री लम्सालको विदाइ यही सन्देश हो । राजनीति व्यक्ति केन्द्रित होइन, मूल्य र सिद्धान्त केन्द्रित हुनुपर्छ ।

आज एमालेले आत्मपरीक्षण गर्नुपर्ने बेला आएको छ । प्रश्न बद्री लम्साल किन गए भन्ने होइन । प्रश्न यो हो एमालेले यस्ता निष्ठावान, इमानदार र त्यागी कार्यकर्तालाई किन थाम्न सकेन ? पार्टीभित्र कतिजना यस्ता बद्रीहरू मौन रूपमा हराइरहेका छन्, जसको पीडा सार्वजनिक हुन सकेको छैन ? यदि पार्टीले यी प्रश्नलाई बेवास्ता गरिरह्यो भने, भोलि संगठन कमजोर हुँदै जान्छ र विचारभन्दा संरचना भारी बन्छ ।

नेपाली राजनीतिलाई आज धेरै बद्री लम्सालहरू चाहिएको छ जो पद छोड्न सक्छन्, जो मौन विद्रोह गर्न सक्छन्, जो राजनीति कुर्सी होइन, अन्तरआत्माबाट गर्ने साहस राख्छन् । बद्री लम्सालको विदाइ अन्त्य होइन । यो चेतावनी हो एमालेका लागि मात्र होइन, समग्र नेपाली राजनीतिका लागि । यदि यो चेतावनीलाई समयमै सुन्न सकियो भने, सुधारको ढोका अझै बन्द भइसकेको छैन । नसुन्ने हो भने, इतिहासले फेरि एकपटक निर्ममतापूर्वक फैसला गर्नेछ । अस्तू।।।