हेटौँडा:आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा सक्रिय छन् । दलहरु उम्मेदवार छनौट तथ सिफारिस प्रक्रियामा लागेका छन् । निर्वाचन आयोगले पनि राष्ट्रिय सभा निर्वाचनका लागि तयारीलाई तिव्रता दिएको छ । आयोगले यसअवधिमा मतदान स्थल तथा केन्द्र तोक्ने तथा निर्वाचन अधिकृत तोक्ने काम सम्पन्न गरिसकेको छ । निर्वाचनको कार्यक्रम अन्तर्गत आयोगले पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक २ वर्षमा एक तिहाइ सदस्य नयाँ आउने व्यवस्था छ । जसअनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा जानेछन् । एक जना भने राष्ट्रपतिबाट मनोनयन गर्ने कानुनी व्यवस्था छ । १८ पदका लागि हुने निर्वाचनमा बागमती प्रदेशबाट २ जना सदस्यहरुको पदावधी रिक्त हुने र सो पदमा निर्वाचन हुने तयारी रहेको छ । बागमती प्रदेशबाट महिला कोटाकी एमालेकी इन्दिरा देवी गौतम र गंगाकुमारी बेलवासेको पदावधी आगामी फागुनमा सकिँदैछ । राष्ट्रिय सभा निर्वाचनको मिति नजिकिँदै गर्दा बागमती प्रदेशको चुनावी अंकगणित महत्वपूर्ण देखिएको छ । उक्त निर्वाचनमा ११० सदस्यीय प्रदेश सभा र ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा दलहरुको मतभारको स्थितिले परिणामलाई रोचक बनाउने देखिएको छ ।

बागमती प्रदेशको कुल मतदाता ११० प्रदेश सभा सदस्य र २३८ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी ३४८ रहेका छन् । जसको कुल मतभार १० हजार ३५२ रहेको छ । सो मतभारमा प्रदेशसभाका सांसदको मतभार (५३ को दरले) ५ हजार ८३० र स्थानीय तह मतभार (१९ का दरले) ४ हजार ५२२ हुन आउँछ । बागमती प्रदेशमा नेपाली कांग्रेस ४ हजार १३ मतभारसहित पहिलो दलको रुपमा रहेको छ । कांग्रेससँग प्रदेश सभामा ३७ सिट छ भने स्थानीय तहतर्फ प्रमुख तथा उपप्रमुख गरी १०८ जना रहेका छन् । सो निर्वाचनमा कांग्रेससँग प्रतिस्पर्धा गर्न अन्य दलहरुलाई कठिन देखिन्छ ।

तथ्यांक अनुसार नेकपा एमाले २ हजार ५७१ मतभारका साथ दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्र २ हजार १९६ मतभार र नेकपा एकीकृत समाजवादी ५४२ मतभार रहेको छ । हाल माओवादी केन्द्र र एकीकृत समाजवादी एकतामा रहेका छन् । जसले उनीहरुको मत भार २ हजार ७३८ हुन आउँछ । सो मतभार एमालेको भन्दा केही बढी हुन आउँछ ।

प्रदेश सभामा १३ सिट भए पनि स्थानीय तहमा कमजोर पकडका कारण राप्रपाको कुल मतभार ७०८ मात्र रहेको छ भने नेमकिपाको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्र उम्मेदवारको १९ मतभार रहेको छ । बागमती प्रदेशमा एमाले माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धन कायम रहेमा उनीहरुको पक्षमा कुल मतभार ५ हजार ३०९ पुग्छ ।