Home मुख्य समाचार मोतिविन्दुको समस्या भएका १ हजार भन्दा बढी बिरामीको निशुल्क शल्यक्रिया हुँदै

मोतिविन्दुको समस्या भएका १ हजार भन्दा बढी बिरामीको निशुल्क शल्यक्रिया हुँदै

आँखा शिविरमा आँखा परीक्षण गरिँदै । फाइल तस्वीर ।

हेटौँडा : बारा जिल्लाको निजगढ नगरपालिकास्थित निजगढ तिलगंगा आँखा अस्पतालमा १ हजार भन्दा बढी मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया हुँदैछ । शुक्रबारबाट सुरु भएको शल्यक्रिया केहि दिनसम्म संचालन हुने हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

विगत केहि दिनदेखि बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर निशुल्क आँखा शिविर आयोजना गरी मोतिविन्दुका बिरामीहरु छनौट गरिएको थियो । ६ हजार ५ सय जनाको आँखा जाँच गरिएकोमा १ हजार ६ सय जनामा मोतिविन्दुको बिरामीहरु भेटिएको श्रेष्ठले बताउनुभयो ।

अपरेशन रिजोईस सिंगापुरको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान र निजगढ तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर संचालन भएको हो । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको शाखा निजगढ तिलगंगा आँखा अस्पताल २०८१ कार्तिक महिनादेखि संचालनमा रहेको छ । आँखाको नियमित जाँच, शल्यक्रिया सेवा, चश्मा तथा औषधि सेवा र नियमित सामुदायिक कार्यक्रम गर्दै आइरहेको छ ।

Exit mobile version