हेटौँडा : वन विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुको अन्तर्राष्ट्रिय संस्था (इप्सा) को हेटौँडा सम्मेलन सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन बिहीबार हेटौँडास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको वन संकायमा सम्पन्न भएको छ ।
इप्सा हेटौँडाका अध्यक्ष सरोज न्यौपानेको अध्यक्षता तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत वन संकायका डीन प्रा.डा. बासुदेव पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । इप्सा हेटौँडाले तीन दिने कार्यक्रममा वन पैदावारको प्रदर्शनीय, विद्यार्थी बीच मनोरञ्जनात्मक प्रतियोगितासँगै अन्तिम दिन शनिबार नमूना संसदको अभ्यास समेत गर्नेछन् । सम्मेलनकै अवसरमा विद्यार्थीले साँस्कृतिक कार्यक्रमको समेत आयोजना गर्नेछ । विश्वविद्यालय तहमा वन विज्ञान विषय अध्ययनरत विश्वव्यापी विद्यार्थीको ज्ञान, सीप तथा नेतृत्व विकास गर्ने उद्देश्यले इप्साको स्थापना भएको बताइएको छ ।
बिहीबारको उद्घाटन समारोहमा इप्साको अन्तर्राष्ट्रिय अध्यक्ष इन्डोनेसियाकी इप्साका अन्तर्राष्ट्रिय अध्यक्ष निरो बाजिया, एसिया प्यासिफिक क्षेत्रका अध्यक्ष सेङ ह्या, इप्सा हेटौँडाका संस्थापक एवम् निवर्तमान अध्यक्ष अनिल सुवेदीले भिडियो सन्देश पठाउनु भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै डीन प्रा.डा. पोखरेलले पछिल्लो समय नेपालको वन क्षेत्र बढेको जानकारी दिनुभयो । नेपालको वन क्षेत्र बढ्नुमा संरक्षणको प्रयाससँगसँगै सहरमा बढ्दो वसाई प्रमुख कारण भएको उल्लेख गर्नुभयो । वनको संरक्षण र उपयोग दुबै बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै इप्साका आल्मुनाई विशाल चापागाईंले कुनै संगठन, शैक्षिक संस्था नभनी वन विज्ञान विषय अध्ययनरत युवा विद्यार्थी सहभागी संस्थाको रुपमा इप्साको परिकल्पना गरिएको उल्लेख गर्नुभयो । पत्रकार सुरेश श्रेष्ठले वन विज्ञान विषय अध्ययनरत विद्यार्थीको अन्तर्राष्ट्रिय संस्था मकवानपुर जिल्लामा पनि विस्तार हुनु सकारात्मक भएको उल्लेख गर्नुभयो । उहाँले नेपाली विश्वविद्यालयमा विदेशी विद्यार्थीका लागि पनि छात्रवृत्ति कोटाको व्यवस्था गरी विदेशी विद्यार्थीको पनि सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वन संकायका सहायक डीन जितेन्द्र गौतम, उपप्राध्यापक अप्सरा गौतमको पनि आतिथ्य रहेको थियो । सम्मेलनले इप्सा हेटौँडाको नयाँ समिति समेत चयन गर्नेछ ।











