हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई ‘आर्थिक र विकासको साझेदार’ का रुपमा अघि बढाउनु पर्ने बताउनु भएको छ । उहाँले संघीयता कार्यान्वयनमा प्रदेश र स्थानीय तहले प्रशासनिक क्षेत्रमा मात्र नभई आर्थिक तथा विकासका काममा सहकार्यको नयाँ नीति अवलम्वन गर्नुपर्ने बताउनुभयो ।
थाहा नगरपालिकाको चित्लाङमा आयोजित चित्लाङ हिल स्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले प्रदेशले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत बजेट बेहोर्ने गरी विकासका ठूला आयोजनामा साझेदारी गर्न सकिने बताउनुभयो । विगतमा प्रदेश सरकारले बनाएका कतिपय संरचनाहरु व्यवस्थापनको अभावमा बेवारिसे बनेको र ती संरचनाहरु स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
‘स्थानीय तहले योजनाको अपनत्व लिउन् भन्ने प्रदेशको चाहना हो । तपाईँहरुले ३ करोडको हिम्मत गर्नुभयो भने प्रदेश सरकार ७ करोड थपेर १० करोडको आयोजना सम्पन्न गर्न तयार छ । यसले स्रोतको सदुपयोग र विकासमा तीव्रता दिनेछ ।’ उहाँले भन्नुभयो, ‘प्रदेशले विकास र संरचना बनाएर मात्र हुँदैन । त्यसलाई जोगाउने र चलाउने काम स्थानीयले लिनुपर्छ । थाहा नगरमा बनेको यो संरचना अब नगरपालिकाको सम्पत्ति हो । यसको सफल सञ्चालनले नै संघीयतालाई बलियो बनाउँछ ।’
विकासलाई दलीय स्वार्थभन्दा माथि राख्नुपर्ने मुख्यमन्त्री बानियाँको भनाई छ । विकासमा एकताको नयाँ भाष्य निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मकवानपुरको (दामन, पालुङ, चित्लाङ) लाई पर्यटनको हब बनाउन प्रदेश सरकारले विशेष लगानी गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । काठमाडौँ–चन्द्रागिरी–थाहा नगरको कनेक्टिभिटीले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने उहाँको भनाई छ । ‘सडक र बिजुलीमा कांग्रेस वा एमालेको लेबल हुँदैन । निर्वाचनमा एजेन्डा फरक हुन सक्छन् । तर विकासको धारामा सबैले एउटै पानी खाने हो । त्यसैले विकासमा विग्रह होइन । सहकार्य गरौँ ।’ मुख्यमन्त्री बानियाँले भन्नुभयो ।
