हेटौँडाः हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सुरु भएको छ । मंगलबारदेखि विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव सुरु भएको भएको हो ।
विद्यालयले शनिबारसम्म विविध कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव मनाउनेछ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख अतिथ्यमा स्वर्ण महोत्सव सुरु भएको हो ।
विद्यालयले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेको स्काउट मार्चपास प्रतियोगितामा हेटौँडा–१३, पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालय प्रथम, आयोजक निर्मल माध्यमिक विद्यालय द्वितीय र हेटौँडा–९, लामसुरेस्थित श्रीकृष्ण आदर्श बोर्डिङ स्कूल तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
स्वर्ण महोत्सवकै अवसरमा स्तम्भ अनावरण गर्नुका साथै विद्यालयले आफ्ना डकुमेन्ट्री र विद्यालय गान पनि सार्वजनिक गरेको हो । स्वर्ण महोत्सवको अवसरमा मंगलबारदेखि शनिबारसम्म विद्यालय प्राङ्गणमा खाना महोत्सव हुनेछ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले विद्यालयलाई कम्तिमा दुई वटा बस उपलब्ध गराउने र विद्यालय विकासमा सबै किसिमले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । माथि डाँडाका नागरिकलाई वडा कार्यालय र सहर आउन सास्ती भोग्नु परेकाले आउँदो वर्ष माथि डाँडाका गाउँलेले सहज बाटो पाउने उहाँले बताउनुभयो । बागमती प्रदेश सरकारले आफ्नो शिक्षा नीति परिवर्तन गरी प्रविधिमैत्री शिक्षालाई जोड दिएको मुख्यमन्त्री बानियाँको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेश सरकार सामाजिक विकासमन्त्री कञ्चन वादे श्रेष्ठ, निवर्तमान प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह र विन्दबासिनी कंसाकारको विशिष्ट आतिथ्य रहेको थियो ।
