हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेमा गोठमा आगलागी हुँदा आगोले पोलेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा ४४ वर्षीय कविता सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सोमबार साँझ ७ बजेर ३० मिनेटको समयमा काठ र खरले छाएको गोठमा कुडो पकाउने क्रममा आगलागी भएको थियो । आगलागीका कारण सिजालीको शरीरको पछिल्लो भाग (ढाड) र टाउकोमा आगोले पोलेर घाइते भएकी छन् । उनलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै गोठभित्र रहेका खसी २ वटा, बोका २ वटा र बाख्रा ४ वटा जलेर मरेका छन् । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।











