हेटौँडा : हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयले ६० औँ वार्षिक उत्सव ( हीरक जयन्ती) विविध कार्यक्रम गरी मनाउने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै विद्यालयले बुधबारदेखि विविध कार्यक्रम गरी उत्सव मनाउने जानकरी दिएको छ ।
वार्षिक उत्सवकोे अवसरमा विद्यालयले १४ गतेसम्म जिल्ला स्तरीय, नगरस्तरीय र विद्यालय स्तरीय विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । वर्षिक उत्सवको अवसरमा विद्यालयले जिल्लास्तरीय शिक्षक हाजिरीजवाफ, जिल्लास्तरीय चित्रकला प्रतियोगिता, नगरस्तरीय छात्र फुटबल, वडास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नेछ । यसैगरि नृत्य प्रतियोगिता, पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, अभिभावक अभिमुखीकरणसहित विभिन्न खेलकूद र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने विद्यालयले जनाएको छ ।
विद्यालयले यसअघि दुई पटक वार्षिक उत्सव मनाएको र यो वर्ष हीरक जयन्तीको रुपमा मनाउने प्रधानाध्यापक श्रीराम दाहालले बताउनु भयो । २०७७ सालतिर २ सय जना विद्यार्थीमा सीमित भएको विद्यालयमा हाल ८ सय जना विद्यार्थीहरु अध्ययनरत छन् । पत्रकार सम्मेलनमा बोल्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीले विद्यालय विकासका लागि सरकार र स्थानिय दुवैको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
